के हुँदै छ वैद्य माओवादीमा?

चैत २१, काठमाडौं–
अधिकांश नेताले दिए पार्टी एकतामा जोड
एमाओवादीसँगको पार्टी एकताको निर्णय लिन नेकपा क्रान्तिकारी माओवादीको केन्द्रीय समिति बैठक नौ दिनदेखि जारी छ। एकताको पक्ष–विपक्षमा नेताहरूले विभाजित भएर मत अभिव्यक्त गरिरहेका छन्।

एक सय ९९ सदस्यीय केन्द्रीय समितिमा शनिबारसम्म एक सय ५३ जनाले आफ्नो धारणा राखिसकेको प्रवक्ता पम्फा भुसालले बताइन्। अध्यक्ष मोहन वैद्य किरण र नेता रामबहादुर थापा बादलको दुई प्रस्तावमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम आइतबार सकिँदै छ।

अधिकांश नेताले आधारभूत विषय मिलाएर समग्र कार्यदिशाका विषयमा छलफल गर्ने गरी पार्टी एकतामा जान नेतृत्वलाई दबाब दिएका छन्।

महिलामा एकता पक्षधर हाबी

स्रोतका अनुसार वैद्य माओवादीको केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने महिला नेतृहरू तत्काल पार्टी एकताको पक्षमा खुलेका छन् । पार्टी प्रवक्ता पम्फा भुसाल, नेतृहरू अमृता थापामगर, यशोदा सुवेदी, रूपा चौधरीलगायतका नेतृहरू एकताका पक्षमा उभिएका छन्। लक्ष्मी मुडभरी, प्रतिभा श्रेष्ठ, जयन्ती लुइँटेललगायत भने कार्यदिशा नमिलेसम्म एकतामा जान नहुने पक्षमा उभिएका छन्।

युवा एकतामा, प्रौढ विपक्षमा

उमेरका हिसाबमा पनि नेताहरू पार्टी एकताको पक्ष–विपक्षमा उभिएका छन्। ५५ वर्ष उमेर समूहभन्दा कम उमेरका नेताहरू तत्काल एकताका पक्षमा उभिएका छन्। हितमान शाक्य, कुलप्रसाद केसी, सूर्य सुवेदी, रामदीप आचार्य, युवराज भट्टराईलगायतका युवा नेताहरू एकताको पक्षमा उभिएका छन्। सिपी गजुरेल, हरिभक्त कँडेल, हर्कबहादुर शाहीलगायतका नेताहरू सैद्धान्तिक राजनीतिक कार्यदिशा नमिलेसम्म एकता गर्न नहुने पक्षमा बोलेका छन्।

सहिद, बेपत्ता परिवारको एकै मत

केन्द्रीय समितिमा रहेका जनयुद्धका सहिद, बेपत्ता परिवारका नेताहरूले पार्टी एकतामा जोड दिएका छन्। जनयुद्धमा परिवारभित्रैबाट पाँचजना गुमाएकी केन्द्रीय सदस्य रेणुका चौलागाईं, श्रीमान् गुमाएकी निरू दर्लामीमगर, दाजुभाइ गुमाएका मायाप्रसाद शर्मासम्मले आधारभूत विषय मिलाएर तत्काल पार्टी एकतामा जान नेतृत्वलाई सुझाब दिएका छन् (नयाँ पत्रिका दैनिकबाट)