पाँच कलाकारको ‘ऐक्यबद्धता’

चैत १९, काठमाडौं– ‘ऐक्यबद्धता’ शीर्षकमा नेपालका पाँचजना कलाकारका चित्रहरुको नेपाल आर्ट काउन्सिलमा १८ चैतबाट प्रदर्शनी सुरु भएको छ ।
‘जरा फाउण्डेशन’ को आयोजनामा भएको सो प्रदर्शनीको शुभारम्भ साहित्यकार उषा शेरचनले गरेकी हुन् ।
कलाकार नरेन्द्रबहादुर श्रेष्ठ, नगेन्द्रप्रसाद पौड्याल, देवेन्द्र थुम्केली, केशव राज खनाल र अनिता खनाल भट्टराईका ३० थान चित्र प्रदर्शनीमा राखिएको छ । ब्रमाण्ड र सृष्टिका विषयलाई लिएर कलाकार श्रेष्ठले चित्र तयार पारेका छन् । चराचर जगतको ब्रमाण्डसँगको अन्तरसम्बन्ध र यस संसारको सृष्टिका विषयलाई कलात्मक रुपमा संयोजन गरेका छन् । श्रेष्ठले आफ्ना कलाका बारेमा भने, ‘आगो पानी, ब्रमाण्ड, यो संसार र प्राणीको अस्तित्वबीचको अन्तरघुलनलाई मैले चित्रमा व्यक्त गर्न खोजेको हुँ ।’
नगेन्द्रप्रसाद पौड्यालले पूर्वीय मूल्य र मान्यतालाई रङ र बिम्बका माध्यमबाट चित्र बनएका छन् । उनले विशेषगरी आध्यात्मिक विषयलाई समसायिक सन्दर्भसँग तुलना गरेर बनाएका चित्रमा प्रतीकको प्रयोग अधिक मात्रामा गरेका छन् ।
देवेन्द्र थुम्केलीले समाजको खराब पक्षको मुखुण्डोलाई सिर्जनात्मक रुपमा उतारेका छन् । समाज, राजनीति र त्यसले सिकाएको संस्कारलाई थुम्केलीले मुखुण्डोको रुपमा चित्रण गर्दै मानिसका सोच र प्रबृत्ति गलत भएतापनि त्यसलाई छोप्दै सामाजिक रवाफमा आफुलाई चिनाउन खोज्ने विषयलाई सटिक रुपमा चित्रमार्फत प्रस्तुत गरेका छन् ।
अव्यवस्थित सहरीकरणले हाम्रा सामाजिक मूल्य र मान्यतामाथि गरेको हस्तक्षेप र निर्माण गर्न खोजेको विकृतिलाई सटिक र सरल रुपमा प्रस्तुत गर्दै कलाकार केशव राज खनालले चित्र बनाएका छन् । उनले आफ्ना कलाका विषयमा भने, ‘च्याऊसरी उम्रेको आगन्तुक संस्कृतिले हाम्रो ऐतिहासिक मौलिकतामाथि पारेको प्रभावलाई देखाउन खोजेको हुँ । आधुनिकतालाई अगाल्ने नाउँ आफ्नो मौलिकतालाई बिर्सन हुन्न भन्ने विषय नै चित्रको प्रमुख थिम हो ।’
नारीलाई प्रतीकात्मक रुपमा प्रस्तुत गर्दै कलाकार अनिता खनालले नारी शक्तिलाई कलात्मक रुपमा प्रस्तुत गरेकी छन् । प्रदर्शनीमा उनले इचिङ प्रिन्ट राखेकी उनले आफ्ना कलाका विषयमा थपिन्, ‘नारीको कोमलता र सुन्दरतासँगै नारीको योग्यता र क्षमतालाई समाजले बुझ्न जरुरी छ । मैले चित्रमा नारीका विषयलाई चाहे शक्तिका रुपमा होस् या सामाजिक विद्रोहका रुपमा प्रस्तुत गरेकी छु ।’