भारत लैजाँदै गरिएका १३ नाबालकसहित २४ जना पक्राउ

चैत १८,गौशाला– नेपालबाट भारतमा रोजगारीका लागि जाँदै गरेको १३ नाबालकसहित २४ जनालाई बिहीवार बिहान महोत्तरीको नेपाल भारत सीमामा खटिएका भारतीय सुरक्षा बल (एसएसबी) ले पक्राउ गरेको छ ।

नेपालको महोत्तरी, सिरहा र सिन्धुलीबाट भारतमा रोजगारीका लागि जाँदै गरेका २४ जनालाई भारत विहार राज्यको सीतामढीमा अवस्थित ‘चाइल्ड लाइन’ नामक संस्थाले एसएसबीद्वारा पक्राउ गर्न लगाएको हो ।

भारतीय एसएसबीले पक्राउ गरेका २४ मध्ये ११ जना वयस्क रहेको र उनीहरुले नाबालकलाई बाल श्रम शोषणका लागि लैजाँदै गरेको भन्दै सो संस्थाले ती सबै जनालाई पक्राउ गर्न लगाएको हो । पक्राउ परेकामध्ये दुईजनासँग भारतीय र नेपाली दुवै देशका नागरिकतासमेत रहेको बताउँदै एसएसबीका एक अधिकारीले ती व्यक्तिहरु नाबालकलाई गलत काममा प्रयोग गर्ने उद्देश्यले लैजान लागेकोले पक्राउ गरिएको बताएका छन् ।

चाईल्ड लाइन संस्थाको अनुरोधमा एसएसबीले पक्राउ गरेका २४ जनालाई संस्थाको अनुरोधमा भारतीय प्रहरीले आज सीतामढीस्थित ‘चाइल्ड कोर्ट’मा उपस्थित गराउने र सो स्थानबाट तिनका अभिभावकलाई बोलाएर नाबालकलाई जिम्मा लगाउने भएको एसएसबीले बताएका छन् । अहिले ती चौबिसैजना एसएसबीकै नियन्त्रणमा रहेको छ ।