आजदेखि सुरु एसएलसी परीक्षामा ६ लाखबढी विद्यार्थी सहभागी

चैत १८ काठमाडौं–यस वर्षको प्रवेशिका (एसएलसी) परीक्षा आजदेखि  सुरु भएको छ।
विहान ८ बजेदेखि सुरु भएको एसएलसी परीक्षामा नियमित, आंशिक र प्राविधिकतर्फका गरी  कुल ६ लाख १५ हजार पाँच सय ५३ जना विद्यार्थी सहभागी हुँदैछन्।
आज पहिलो दिन परीक्षार्थीले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिँदैछन्।

अघिल्लो वर्षभन्दा यो वर्ष झन्डै दुई साता पछि एसएलसी परीक्षा सुरु भएको हो। तराईमा भएको आन्दोलनका यसवर्ष केही ढिलो परीक्षा गराउन लागिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

परीक्षा सञ्चालनका लागि मुलुकभर एक हजार ९ सय ४३ परीक्षा केन्द्र तोकिएको छ।

परीक्षामा नियमिततर्फ चार लाख ५२ हजार आठ सय ८१ सहभागी छन् भने तीमध्ये दुई लाख २७ हजार पाँच सय ३५ जना छात्रा तथा दुई लाख २५ हजार तीन सय ४६ जना छात्र रहेका छन्।

यसैगरी आंशिकतर्फ एक लाख ५९ हजार चार सय १७ जना सहभागी हुँदैछन्। जसमा ९७ हजार ३६ जना छात्रा तथा ६२ हजार तीन सय ८१ जना छात्र छन्। यस्तै प्राविधिकतर्फ भने तीन हजार दुई सयजना परीक्षार्थी सहभागी हुँदैछन्।