विमानमा बम किन हुन्छ हल्ला?

चैत १५, काठमाडौं– भारतको नयाँदिल्लीबाट १ सय ६२ यात्रु लिएर काठमाडौं आइरहेको जेट एयरवेजको जहाजलाई आइतबार त्रिभुवन विमानस्थल टावरले सोध्यो, ‘तिम्रो जहाजमा बम थ्रेटको खबर आएको छ उतै फर्किन्छौ कि यता आउने?’ जेटका क्याप्टेनले जहाजलाई काठमाडौं अवतरण गराउनै सजिलो हुने बताएपछि धावनमार्ग क्लियर गराइयो।

जेटको विमानमा बम रहेको अपुष्ट खबर कुनै अज्ञात व्यक्तिले नयाँदिल्लीस्थित उसकै कलसेन्टरमा नोट गराउँदा जहाज सिमरामाथिको आकाशमा होल्डमा थियो। भारत बाहिरको मोबाइलबाट नोट गराइएको उक्त खबर दिल्लीस्थित जेट ययरवेजले काठमाडौंस्थित स्टेशनमा टिपायो। स्टेसनले त्यो अपुष्ट बम थ्रेटको खबर त्रिभुवन विमानस्थललाई गराउँदा उक्त विमान काठमाडौदेखि करिब ५८ किलोमिटर परको आकाशमा घुमिरहेको थियो।

त्यसबेला काठमाडौंको विमानस्थल भिजिविलिटी त कम थियो नै, चीन भ्रमणबाट फर्केका प्रधानमन्त्रीको जहाज पनि अवतरण गर्ने तरखरमा थियो। त्रिभुवन विमानस्थलका प्रमुख देवानन्द उपाध्यायका अनुसार यस्तो अवस्थामा जहाजले इमर्जेन्सी घोषणा गर्नुपर्छ।

काठमाडौंमा प्रधानमन्त्री ओलीको विमान ९३ बजेर ५७ मिनेटमा० अवतरण गरेलगत्तै ९४ बजेर ५ मिनेटमा० जेट एयरवेजको बोइङ ७३७ विमान अवतरण गर्‍यो।

विमानस्थलका प्रवक्ता भोलाप्रसाद गुरागाईंका अनुसार बेला–बेला विश्वभर यस्ता हल्ला आइरहन्छन्। यिनमा ९० प्रतिशत हावादारी हुने गरेका छन्। ‘कुनै सन्कीको पागलपन हुन सक्छ,’ उनले भने। बेला–बेला प्रतिद्वन्द्वी एयरलाइन्सले पनि अर्को कम्पनीको बिजनेसमा असर पुर्‍याउन यस्तो हल्ला गर्ने गरेका घटना हुने गरेको उनले बताए।

‘यस्तो नेपाल, भारतमात्रै होइन अमेरिकाजस्ता विकसित मुलुकमा पनि हुने गरेका छन्,’ प्रवक्ता गुरागाईंले भने, ‘भारतमै एक सातामा ७र८ वटा हल्ला आए।’ विमानस्थलका एक पूर्वप्रमुखका अनुसार कतिपय अज्ञात समूहले विमानस्थलको लुपहोल पत्ता लगाउन, सुरक्षाको अवस्थाबारे जाँच्न पनि यस्तो हावादारी थ्रेट दिने गरेका छन्। (कान्तिपुर दैनिकबाट)