ग्यास अनुगमनमा सादा पोसाकका प्रहरी

चैत १५, काठमाडौं– भारतले लगाएको नाकाबन्दी खुलेको डेढ महिना हुन लाग्दा पनि बजारमा खाना पकाउने ग्यास सहज हुन सकेको छैन। इन्डियन आयल कर्पोरेसन ९आर्इओसी०बाट ८० प्रतिशतको हाराहारीमा ग्यास आपूर्ति भए पनि उपभोक्ताले पाउन सकेका छैनन्।

वाणिज्य, आपूर्ति तथा व्यवस्था विभाग र नेपाल प्रहरीको संयुक्त टोली अनुगमनमा क्रियाशील भएका छन्।  नेपाल प्रहरीले कालोबजारी नियन्त्रण गर्न काठमाडौं, ललितपुर र भक्तपुरका इन्धन डिपो तथा पम्पमा सादा पोसाकका जनशक्ति परिचालन गरेको छ।

विभागका महानिर्देशक गोकुल धितालले स्थानीय प्रशासन र नेपाल प्रहरीको सहकार्यमा कालोबजारी गर्नेलाई अनुगमन गरी कारबाही गरिएको बताए। नाकाबन्दीले गर्दा एकैपटक लाखौं सिलिन्डर खाली भएकाले अभाव पूर्ति गर्न समय लागेको बताउँदै उनले आपूर्ति बढाउनु नै उत्तम विकल्प भएको तर्क गरे।

होलीका कारण ग्यास लोड हुन नसक्दा पनि यो साता समस्या थपिएको उनले बताए। नेपालका बुलेट कम भएका कारण पनि भारतले ग्यास दिएजति आपूर्ति गर्न नसकिएको उनको दाबी छ।

महानगरीय प्रहरीले इन्धनमा मौलाएको कालोबजारी नियन्त्रण गर्न तीन्वटै जिल्लाका प्रहरी परिसरबाट सादा पोसाकका प्रहरी खटाएको छ। ( कारोबार दैनिकबाट)