पियनको काँधमा नागरिकता फाँट

चैत १५, बझाङ– जम्मा ४ कक्षा उत्तीर्ण उनको पद कार्यालय सहयोगी हो। पदअनुसारको उनको जिम्मेवारी फाँटमा बसेर काम गर्ने होइन, फाइल ओसारपसारजस्ता काम सघाउनु हो। तर जिल्ला प्रशासन कार्यालय बझाङको नागरिकता फाँट १४ वर्षयता उनी एक्लैको काँधमा छ।

उनी अर्थातन चन्द्रबहादुर ओली। हरेक दिन कार्यालय पुगेपछि नागरिकता फाँटमै समय बिताउने उनी सेवाग्राहीसँग मिजासिलो व्यवहार गर्छन्। नागरिकता दिलाउने प्रक्रिया के हो, सम्बन्धित फाइल कहाँ छन्, उनलाई कुनै द्विविधा छैन। सेवाग्राहीमध्ये प्रायः सवैले उनलाई फाँटबाला नै ठान्छन्।

दरबन्दी अनुसार कर्मचारी नखटाइँदा जिल्ला प्रशासन कार्यालय, बझाङको नागरिकता फाँट १४ वर्षयता पियनका भरमा चलिरहेको हो। ओलीले सकेजति भरथेग गरिरहे पनि दरबन्दी अनुसार फाँटबाला कर्मचारी नहुँदा विभिन्न झमेला झेल्नु परेको सेवाग्राहीको गुनासो छ। (नागरिक दैनिकबाट)