संविधान कार्यान्वयनसंगै समृद्धि ः सुजाता कोइराला

चैत १४, काठमाडौं– नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले संविधान कार्यान्वयन गर्दै मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजानुपर्ने बताएकी छिन् ।
स्वतन्त्र जागृत युवा समूहले काठमाडौंको विश्वम्भरा गाउँमा भूकम्प पिडितलाई घर हस्तान्तरण गर्न आयोजना गरेको कार्यक्रममा कोइरालाले आर्थिक समृद्धिबाट मात्रै नेपालको पुनर्निर्माण सम्भव रहेको बताइन् ।
‘राजनीतिक अस्थिरता र भूकम्पका कारण मुुलुक धेरै पछाडि धकेलिएको छ । अब पनि समृद्ध हुन सकिएन भने नयाँ नेपाल बन्न सक्दैन ।’, कोइरालाले भनिन् ।

उनले भूकम्पपिडितहरुलाई राहत दिन सरकार असफल रहेको आरोप लगाइन् । भूकम्पपिडितलाई सहयोग गर्नुको साटो पुनर्निर्माण प्राधिकरणलाई भर्तीकेन्द्र बनाउन खोजिएको भन्दै उनले त्यसतर्फ कांग्रेसले खबरदारी गर्ने बताइन् । संविधान कार्यान्वयन गरेर परिवर्तन संस्थागत गर्न तथा पुनर्निर्माणमा युवाहरुले महत्वपूर्ण योगदान गर्नुपर्ने कोइरालाको भनाई थियो ।

कार्यक्रममा कोइरालाले भूकम्पबाट प्रभावित ११ परिवारलाई घर हस्तान्तरण गरेकी थिइन् । दलित समुदायको बाक्लो बस्ती रहेको विश्वम्भरमा स्वतन्त्र जागृत युवा समूहले स्थायी घर निर्माण गरेर हस्तान्तरण गरेको हो । समूहका अध्यक्ष मनिष कोइरालाले ११ भूकम्पपिडित परिवारलाई घरसंगै खानेपानी र शौचालयको समेत उचित प्रबन्ध गराइएको जानकारी दिए । सो क्षेत्रमा आकाशीय पानी संकलन प्रविधि, धुँवारहित आधुनिक चुल्हो लगायतका सुविधा उपलब्ध रहेको उनले जानकारी दिए ।