रिपोर्टर्स क्लवद्वारा पुरस्कार घोषणा

चैत १४, काठमाडौं–रिपोर्टर्स क्लव नेपालले यस वर्षको कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार पत्रकार ओम शर्मालाई दिने निर्णय गरेको छ ।
क्लबले हरेक वर्ष आफ्नो बार्षिकोत्सवको अवसरमा प्रदान गर्दै आएको विभिन्न विद्याका पुरस्कारमध्ये क्रान्तिकारी पत्रकार एवं प्रगतीशील साहित्यकार स्व. कृष्ण सेन इच्छुकको स्मृतिमा स्थापित रु २५ हजारसहितको पुरस्कार पत्रकार शर्मालाई दिने निर्णय गरेको हो ।
क्लबका अध्यक्ष ऋषि धमलाको अध्यक्षतामा आइतबार बसेको पुरस्कार छनौट समितिको बैठकले दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता सक्रिय ‘रातोपाटी डटकम’ र ‘जनआव्हान साप्ताहिक’का सम्पादक शर्मालाई यो पुरस्कार दिने निर्णय गरेको हो ।
यसैगरी क्लवले २० हजार रुपैयाँ राशीको वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कार द हिमालयन टाइम्स अंग्रेजी दैनिकका कार्यकारी राजनीतिक ब्युरो चिफ  रामकुमार कामतलाई, ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार’ द काठमाडौं पोष्टका वरिष्ठ उप–सम्पादक कमलदेव भट्टराई र रेडियो नेपालका समाचार निर्देशक खगेन्द्र खत्रीलाई प्रदान गर्ने निर्णय गरेको छ । यो पुरस्कारको राशी १०÷१० हजार रुपैयाँ रहेको छ ।
यस्तै रु २० हजारसहितको उमा सिंह स्मृति महिला पत्रकारिता पुरस्कार इमेज च्यानलकी वरिष्ठ संवाददाता सरस्वती कर्माचार्यलाई प्रदान गर्ने निर्णय गरेको हो ।