प्लाष्टिक झोलामुक्त उपत्यका–अझै कार्यान्वयनमा आउन सकेन

चैत १२, काठमाडौ– सरकारले २०७२ साल वैशाख १ गतेदेखि काठमाडाँै उपत्यकालाई प्लाष्टिक झोलामुक्त क्षेत्र घोषणा गरेपनि प्रभावकारी रुपमा अझै कार्यान्वयनमा आउन सकेको छैन ।

जनसङ्ख्या तथा वातावरण मन्त्रालयका सहसचिव एवम् वातावरण व्यवस्थापन महाशाखा प्रमुख नारायणराज तिमल्सिनाको नेतृत्वमा आज कालिमाटी तरकारी बजार क्षेत्रमा अनुगमन गर्दा ३२२.०० किलोग्राम मापदण्ड विपरितका प्लाष्टिक झोला भेटिएको थियो ।

अनुगमन टोलीले ती प्लाष्टिक झोला जफत गरी अनुगमन गरिएका स्थानमध्ये कालिमाटी तरकारी बजार परिसरका तीन र बाहिर बजार क्षेत्रका पसललाई बयानका लागि विभागमा उपस्थित हुन पत्र काटेको छ । अन्य थोरै मात्रामा भेटिएका मापदण्ड विपरितका प्लाष्टिक झोला जफत गरी भविष्यमा त्यस्तो झोलाको प्रयोग नगर्न सचेत गराइएको वातावरण विभागका सूचना अधिकृत शंकरप्रसाद पौडेलले जानकारी दिए ।

मापदण्ड विपरितका प्लाष्टिक झोला बिक्री, वितरण, उपयोग र भण्डारण गरेमा रु ५० हजारसम्म दण्ड जरिवाना हुने कानुनी प्रावधान रहेको छ ।