ब्लड क्यान्सर भएको भन्दै आत्महत्या

चैत १२, दाङ – दाङको पुरन्धारा–६ रातोमाटामा एक युवतीले सुसाइड नोटमा आफूलाई ‘ब्लड क्यान्सर’ भएको लेखेर आत्महत्या गरेकी छिन् ।

इलाका प्रहरी कार्यालय खितलपुरका प्रहरी निरीक्षक रामकुमार दानीका अनुसार घोराहीमा सिएमए अध्यनरत १९ वर्षीया रोशनी वलीले आफ्नो सुसाइड नोटमा ‘आफूलाई ब्लड क्यान्सर भएको र आफ्नो पीडा अभिभावक एवं साथिहरुलाई समेत कसैलाई नबाँडेको’ भन्ने उल्लेख गरेको पाइएको छ।

वली शुक्रवार विहान आफ्नो रातामाटास्थित घरवाट शौचका लागि भन्दै एकाविहानै घरवाट निस्किएको र घरदेखि डेढ सय मिटरको दूरीमा रहेको खेतमा विषादी सेवन गरेर अचेत अवस्थामा फेला परेकी थिइन्। वलीलाई तत्काल उपचारका लागि तुलसीपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। वलीको शव पोष्टमार्टमका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा राखिएको छ।

प्रहरीका अनुसार ती युवतीले लेखेको सुसाईड नोटमा ब्लड क्यान्सर भन्ने उल्लेख भएपनि पोष्टमार्टम रिपोर्ट र अनुसन्धानवाट मात्रै तथ्य कुरा सार्वजनिक हुने बताएको छ। मृतक वलीले ब्लड क्यान्सर भएपछि उपचारमा धेरै खर्च लाग्ने र बाँच्न सम्भव छैन भन्ने सोच पालेर नोभा नामक विषादी सेवन गरी आत्महत्या गरेको हुन सक्ने प्रहरीले पूर्व अनुमान गरेको छ।