हस्तकलाले बनाउँछ महिलालाई शसक्त र आत्मनिर्भर

चैत १२, काठमाडौं– हस्तकलाको सीपले नै महिलालाई आत्मनिर्भर बनाउने नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी कुलपति रागिनी उपाध्यायले बताइन् ।
प्रतिष्ठानको हस्तकला विभागले १०६औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजना गरेको  ‘ महिला विकासमा हस्तकलाको भूमिका’ विषयक अन्तरक्रियामा कुलपति उपाध्यायले शिप सिकेर आत्मनिर्भर भएका महिलाले नै समाजमा परिवर्तन ल्याउन सक्ने विचार ब्यक्त गरिन् । आगामी दिनमा विभागले गाउँगाउँका महिलामाझ शिपमुलक कार्यक्रमहरु लगेर त्यहाँका महिलामा रहेको रुडीबादी सोच हटाउनुपर्ने सुझाब उनले दिइन् ।
कार्यक्रममा महिला उद्यमी शान्ती चड्डा, महिला उद्यमी महासंघकी अध्यक्ष रिता भण्डारीलगायतले नेपाली महिलाको विकासमा हस्तकलाले ठूला भूमिका निभाएको बताए । त्यसैगरी महिला उद्यमी महासंघकी संस्थापक अध्यक्ष एवं बनस्पति विज्ञ डा श्यामबदन श्रेष्ठले आफ्नो घरलाई सफा सुग्घर गरी चिटिक्क पार्ने कला पनि हस्तकलामै पर्ने हुनाले घरदेखि ब्यवसायसम्ममा महिलाले राम्रोसँग सम्हाल्ने सक्ने विचार ब्यक्त गरिन् ।
महिला पार्टी शशक्ति नेपालकी अध्यक्ष पद्मीनी प्रधानांगले महिलाले घरमा गरेको कामको कुनै पनि कदर नहुने गरेको बताउँदै उनीहरुको श्रमको योगदान गरी हस्तकलाको क्षेत्रमा उनीहरुको अनुभवलाई अझै प्रवद्र्धन गर्दै लैजानुपर्ने धारणा राखिन् ।
विगत लामो समयदेखि प्रतिष्ठानको हस्तकला विभागले देशभरका विभिन्न ठाउँमा हस्तकलाका तालिमहरु संचालन गर्दै आएको छ । वैशाख १२ गतेको ठूलो भूकम्पमा पनि दाङमा हस्तकला तालिम संचालन गरिरहेको स्मरण गर्दै हस्तकला बिभागकी प्रमुख सुषमा राजभण्डारीले महिलालाई आत्मनिर्भर र शशक्त बनाउनका लागि विभागले देशभर नै यस्ता सीपमुलक तालिम संचालन गर्दै आएको बताइन् ।