माओवादीको एकता नजिकै छः नेताहरु

चैत ११, काठमाडौं– विभाजित माओवादी पार्टीका नेताले देशको विद्यमान समस्या समाधान गर्न आफुहरुको एकता अपरिहार्य रहेको बताएका छन् ।
संवाद डवलीमा क्रान्तिकारी कम्युुनिष्ट पार्टीद्धारा आयोजित ‘वर्तमान परिस्थितिमा माओवादी आन्दोलनको दिशा’ विषयक विचार गोष्ठीमा उनीहरुले उक्त जोड दिएका हुन् ।
क्रान्तिकारी कम्युुनिष्ट पार्टीका महासचिव मणि थापाले माओवादी पार्टीहरुको भविश्य संकटमा रहेकाले एकता अनिवार्य बन्न गएको बताए । उनले अबको एकताले आमुल परिवर्तनको दिशा निर्देश गर्ने पनि दावी गरे ।
एकीकृत नेकपा माओवादीका नेता लोकेन्द्र विष्टले भने–‘बिग्रेका कार्यशैली सच्याएर एकता गर्न आवश्यक छ ।’ यसका लागि आफू पार्टी सदस्य भएर काम गर्न पनि तयार रहेको बताए ।
नेकपा (माओवादी क्रान्तिकारी) का नेता कुलप्रसाद केसीले फेरि जनयुुद्ध, जनयोद्धा र माओवादी आन्दोलनको केन्द्रिकरणविना जनयुद्धका उपलब्धीको रक्षा र बाँकी क्रान्तिको कार्यभार पुुरा नहुुने बताए ।