चीनसँगको सम्झौताले भारत पनि खुसी छः उपप्रधानमन्त्री रावल

चैत ११, काठमाडौं–उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले नेपाल र चीनवीच भएको १० बुँदे सम्झौताले भारत पनि खुसी भएको दावी गरेका छन ।
रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनले भने,‘ स्वतन्त्र र सार्वभौम देशको नाताले नेपालले चीनसँग सम्झौता गर्दा भारतलाई अन्यथा लाग्नु हुँदैन । भारतले पनि अरु देशसँग सम्झौता गर्दा हामी खुसी हुन्छौ भने हामीले गर्दा पनि भारत खुसी नै हुनु पर्छ । छिमेकी समृद्ध भए भारतीय जनता र भारतलाई पनि फाईदा हुन्छ । त्यसैले भारतपनि यो सम्झौताले खुसी छ ।’
साक्षात्कारमा उपप्रधानमन्त्री रावलले अहिलेसम्म भारतीय भूमीबाट मात्रै तेस्रो देशसँगको ब्यापार हुने गरेकोमा अहिलेको सम्झौताले  चीनको भूमीबाट समेत तेस्रो मुलुकसँगको ब्यापार गर्न पाउने ब्यवस्था भएकोले यसले मुलुकको दीर्घकालिन रुपमा फाईदा गर्ने विश्वास ब्यक्त गरे ।
नेपालले आवश्यकता अनुसार जुनसुकै मुलुकबाट पेट्रोलियम पदार्थ आयात गर्न सक्ने भन्दै अहिले प्राविधिक कारणले मात्रै चीनसँग ईन्धन सम्झौता हुन नसकेको उनले बताए ।
उपप्रधानमन्त्री रावलले भने,‘ ईन्धन सम्झौता गर्न नेपाल र चीन दुबै पक्ष सहमत छन । तेलको मुल्य,ढुवानी, कर लगायतका प्राविधिक कारण टुङगो लागि नसकेकोले मात्रै अहिले सम्झौता हुन नसकेको हो ।’
उनले छिमेकीहरुसँग पारस्परिक हित, लाभ र समानतामा आधारित रहेर सम्बन्धलाई अझै फराकिलो र गहिरो बनाउन लागि परेको दावी गर्दै चीनसँग भएको सम्झौता नेपालको आर्थिक विकास र दुई मुलुकको सम्बन्धलाई अझै गहन बनाउन महत्वपूर्ण हुने विश्वास ब्यक्त गरे । उनले भने,‘ यो सम्झौता ऐतिहासिक र दिर्घकालिन प्रभाव पार्ने खाल्को छ । नेपाल सार्वभौम राष्ट्र भएकोले दिगो शान्ति, स्थायीत्व र विकासकोलागि सम्झौता गर्न सक्छ । यो नेपालको हितमा कोशेढुंगा सावित हुन्छ । ’