साना लगानीका पत्रिकाको संरक्षण गर्न सरकार प्रतिबद्ध–मन्त्री राई

चैत ८, काठमाडौं– सूचना तथा संचार प्रविधि मन्त्री शेरधन राईले साना लगानीका पत्रिकाहरुलाई संरक्षण र सम्बद्र्धन गर्नका लागि सरकार प्रतिबद्ध रहेको बताए ।
दैनिक पत्रिका राष्ट्रिय सञ्जालले बुझाएको १६ बुँदे ज्ञापनपत्र बुझ्दै मन्त्री राईले सबै सञ्चार माध्यमलाई समानुपातिक विज्ञापनका लागि पहल भईरहेको जानकारी दिए ,
आम सञ्चार निर्देशिका २०७२ को कार्यदल समितिले सञ्चार माध्यमको समस्यालाई अवगत गर्दै नयाँ नीति चाँडै ल्याउने बताउँदै मन्त्री राईले समानुपातिक विज्ञापन र लोककल्याणकारी विज्ञापन दोब्बर गर्नका लागि मन्त्रालय तयार रहेको छ भने ।
उनले लोकतन्त्रका लागि छापा माध्यमको ठूलो योगदान रहेकोले छापा माध्यमलाई बचाउनका लागि आफू प्रतिबद्ध रहेको बताउँदै २०४६ साल र २०६२÷०६३ सालको जनआन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका छापा माध्यमलाई बचाउनका लागि आफूले सञ्चारमाध्यमको संघ संस्थासँग छलफल गरिरहेको छु भने ।
सञ्जालले बुझाएको ज्ञापनपत्रमा नाकाबन्दीका कारण सयौ साना लगानीका पत्रपत्रिकाहरु बन्द हुने अवस्थामा रहेकाले साना लगानीका पत्रपत्रिकालाई विशेष राहतको व्यवस्था मिलाई दिन सरकारसँग आग्रह गरेको छ ।
भूकम्पबाट पत्रकारहरुको क्षति भएका घरका लागि पुनःनिर्माणको व्यवस्था गरिनुपर्ने, छापा माध्यमको बिक्री बितरणमा अप्रत्याशित ह्रास आएका कारण वितरणका आधारमा गरिदै आएको बर्गिकरण बन्द गरी पत्रकारहरुको बर्गिकरण गर्ने ब्यवस्था गरिनुपर्ने र सूचना विभाग मार्फत दिइदै आएको लोक कल्याणकारी विज्ञापन पत्रिकाको किसिमका आधारमा सबैलाई समान ढंगले उपलब्ध गराउनुपर्नेलगायतका माग रहेको छ ।