डेन्टिसको दरबन्दी सृजना गरी दक्ष जनशक्तिलाई राज्यले उपयोग गर्नुपर्छः राज्यमन्त्री

चैत ८, काठमाडौ– शान्ति तथा पुनःनिर्माण राज्यमन्त्री दिपनारायण साहले नेपालमा स्थायी सरकार नहुँदा भएका नियम कानूनहरु पनि कार्यान्वयन नहुँदा समस्या उत्पन्न भएको गुनासो गरेका छन ।
विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेपाल डेन्टल साईन्स एसोसिएसनले आयोजना गरेको अन्तरक्रियामा उनले प्रत्येक सरकारी स्वास्थ्य सस्थामा डेन्टिसको दरबन्दी सृजना गरेर उत्पादन भएका दक्ष जनशक्तिलाई राज्यले उपयोग गर्नुपर्ने भन्दै स्थायी प्रकृतिको सरकार नबन्दा नियमहरु बनेर पनि कार्यान्वयन हुन नसकेको बताए ।
उनले स्वास्थ्य क्षेत्रमा पहिलादेखिनै कमिकमजोरी भएकोले समस्या उत्पन्न भएको भन्दै यसलाई विस्तारै सुधार गर्दै लानु पर्नेमा जोड दिए ।
नेपाल डेन्टल साईन्स एसोसिएसनका अध्यक्ष एसोसिएनका अध्यक्ष माईकल देबकोटाले सबै सरकारी स्वास्थ्य सस्थाहरुमा दन्त चिकित्सकको अनिवार्य दरवन्दी सृजना गर्न माग गरे ।
देबकोटाले दन्त चिकित्सक उत्पादन गर्न राज्यले अनुमति दिने र उत्पादन भएका दक्ष जनशक्तिलाई अवसर नदिने हो भने यस क्षेत्रको अध्ययन र अध्यापन तत्काल बन्द गर्नुपर्ने बताए ।
उनले अहिले अयोग्य र छोटो तालिम लिएकाहरु उपचारमा रहेको तर योग्यहरु बाहिर रहेको भन्दै यसमा तत्काल हस्तक्षेप गर्न नेपाल स्वास्थ्य ब्यवसायी परिषदलाई आग्रह गरे । उनले त्यसो गर्न नसके आफूहरुले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नु पर्ने समय आउने चेतावनी दिए ।
देबकोटले १४ दिने डब्लुएचओ तालिमको अवस्था खारेज गर्नु पर्ने, विना दर्ता भएका क्लिनीकहरु खारेज गर्नु पर्ने र स्वास्थ्य निर्देशिका परिवर्तन गर्नु पर्ने माग गरे ।
पारा मेडिकल एसोसिएनकी उपाध्यक्ष सोभा गौतमले सरकारले ऐन कानून नबनाउँदा स्वास्थ्यकर्मीहरुको अधिकार सुनिश्चित नभएको भन्दै त्यसकोलागि एक जुट भएर स्वास्थ्यकर्मीहरु सबै उठ्नु पर्ने आवश्यकता औल्याईन ।
उनले दन्तचिकित्कसको आवश्यकता थिएन भने किन उत्पादन गरेको, कलेजहरुलाई किन सम्बन्धन दिएको भनि प्रश्न गर्दै तालिम लिएर उपचारमा प्रवेश गराउने प्रथाको अन्त्य गरेर सबै स्वास्थ्य सस्थामा दन्त चिकित्सकको दरबन्दी सृजना गर्नु पर्नेमा जोड दिईन ।