परीक्षण उडानमा प्रधानमन्त्री चीन जाने

चैत ७, काठमाडौं– प्रधानमन्त्री केपी ओली सञ्चालनमै नआएको निजी वायुसेना कम्पनीको उडानबाट चीन जाने भएपछि उनको भ्रमण सुरूमै विवादमा परेको छ।

कानुनी रुपमा कागजात मिलाएर पनि व्यावहारिक रुपमा भने परीक्षण उडानबाटै उनी बेइजिङ जाने खबर आजको कारोबार दैनिकमा छापिएको छ।

राष्ट्रिय ध्वजाबाहक नेपाल बायुसेवा निगमसँग भएका जहाजलाई लत्याउँदै बिनाप्रतिस्पर्धा हिमालय एयरलाइन्सको जहाज चार्टर्ड गरेर उनी चीन भ्रमणमा जान लागेका हुन्। आइतबारदेखि हुने उनको भ्रमणमा चीनसँग गरिने सम्झौताभन्दा जहाज चार्टरको विवादले प्राथमिकता पाएको छ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिदबाटै हिमालय एयरलाइन्सको जहाज प्रयोग गर्ने निर्णय गराएका हुन्।

प्रधानमन्त्रीले प्रयोग गर्ने निर्णय गरेपछि हिमालय एयरलाइन्सको जहाजलाई काठमाडौं अवतरण गरेको साता नवित्दै नागरिक उड्डयन प्राधिकरणले एओसी प्रमाणपत्र दिएको छ। जबकि निगम आफैले खरिद गरेर ल्याएको राष्ट्रिय ध्वजाबाहक जहाजलाई डेढ महिनाअघि मात्र एओसी दिइएको थियो।