न्यायालयबाट हस्तक्षेप भयोः माओवादी

चैत ५, काठमाडौं– नेकपा– क्रान्तिकारी माओवादीले सर्वोच्च अदालतले युद्धकालीन मुद्दा उल्ट्याएको भन्दै विरोध जनाएको छ।

क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले बिहीवार एक विज्ञप्ति जारी गरी हालै सर्वोच्चले ओखलढुङ्गाको जनयुद्धकालीन मुद्दामा गरेको आदेश र सर्वोच्चमा संवैधानिक इजलास खडा गरी राजनीतिक मुद्दा फिर्ता लिन नमिल्ने भनी गरिएको आदेशका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।

सर्वोच्चको फैसलाबाट विगतमा राजनीतिक दलबीच भएका सहमति र सम्झौताका साथै राज्य पक्षसँग गरिएका सम्झौताको समेत गम्भीर उल्लङ्घन हुन गएको उल्लेख गर्दै अध्यक्ष वैद्यले राज्यको महत्वपूर्ण अङ्गका रूपमा रहेको न्यायालयबाट विगतका सम्झौता उल्लङ्घन गरिनु गलत भएको टिप्पणी गरेका हुन्।

अदालतले राजनीतिक मामिलामा हस्तक्षेप गरेको उल्लेख गर्दै उनले विगतमा गरिएका सम्झौता उल्लङ्घन गरिए त्यसबाट निम्तने परिणाम भने झन् गम्भीर हुने बताएका छन्।