अबको सरकार शेरबहादुरको नेतृत्वमाः खाँड

चैत ३, काठमाडौं– नेपाली काग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य बालकृष्ण खाँडले अबको सरकार नेपाली काग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने दावी गरेका छन ।
एक साक्षात्कारमा उनले सबैभन्दा ठूलो दलको नेतृत्वमा नभए दह्रो सरकार बन्न नसक्ने भन्दै अबको सरकार बन्दा ठूलो पार्टीको सभापतिको हैसियतले देउवाकै नेतृत्वमा बन्ने बताए ।
खाँडले भने,‘ काग्रेसभित्र एक ब्यक्ति एक पदको कुरा उठ्ने गरे पनि पूर्व सभापति सुशील कोइराला पार्टी सभापति, संसदीय दलको नेता र प्रधानमन्त्री बनेर संविधानको नेतृत्व गर्नु भयो । अब पनि शेरबहादुर देउवा नै संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्नु हुन्छ ।’
उनले राष्ट्रिय सहमतिको सरकार विना मुलुक अघि बढ्न नसक्ने दावी गर्दे सहमतिको सरकारकोलागि प्रधानमन्त्री केपी शर्मा ओलीले मार्ग प्रसस्त गर्नु पर्ने धारणा राखे । उनले भने,‘ यो सरकारमा काग्रेस कुनै पनि हालतमा जाँदैन ।’
खाँडले केपी शर्मा ओली नेतृत्वको सरकार अप्राकृतिक गठबन्धन र कमजोर जगमा बनेकोले यो आफ्नै अन्र्तंविरोध र बोझले ढल्ने दावी गर्दै भने,‘ संविधान मान्ने, राजतन्त्र ब्यूताउने, संघीयता नस्विकार्ने दलहरुको अप्राकृतिक गठबन्धनले बनेको सरकारमा मेल खाँदैन । हाम्रो सरकार परिवर्तन गर्ने लक्ष्य छैन तर हामीले निर्णय गर्नु भन्दा अघि यो सरकार ढल्छ ।’

सूचना तथा सञ्चारमन्त्री शेरधन राईले प्रधानमन्त्रीको चीन भ्रमणमा ब्यापार तथा पारवहन, ईन्धन र उर्जा लगायतका सम्झौता हुने भन्दै प्रधानमन्त्रीको चीन भ्रमणलाई भारत भ्रमण जसरी नै उपलब्धिमुलक र ऐतिहासिक बनाउने दावी गरे ।
उनले प्रधानमन्त्रीको चीन भ्रमण स्वभाविक भएको भन्दै प्रधानमन्त्री कुनै सपिङ लिष्ट लिएर भने नजाने स्पष्ट पारे ।
सञ्चारमन्त्रीले भने,‘ संविधानसभाबाट संविधान बनेपछि हुन लागेको प्रधानमन्त्रीको चीन भ्रमण ऐतिहासिक हुन्छ । यो भ्रमणले सम्बन्धलाई नयाँ उचाईमा पुर्याउछ । सरकार भारतमा गएर चीन विरोधी कुरा गर्ने र चीनमा गएर भारत विरोधी कुरा गरेर कार्ड प्रयोग गर्ने गल्ती कहिल्यै गर्दैन । दुबै छिमेकीसँग समान सम्बन्ध राख्न चाहन्छौ ।’