प्रधानमन्त्री केपी शर्मा ओली गएर अर्को आउने सम्भावना छैनः उपाध्यक्ष ज्ञावली

फागुन ३०, काठमाडौं– नेकपा (एमाले)का उपाध्यक्ष यूवराज ज्ञावलीले प्रधानमन्त्री केपी शर्मा ओली बाहिरिने र अर्को सरकार आउने कुनै सम्भावना नरहेको दावी गरेका छन ।
एक साक्षात्कारमा उनले भने,‘ अहिले सरकार बदलिने कुनै सम्भावना छैन । बरु अरु पार्टी आएर सरकारलाई सहमतिको स्वरुप दिन सकिन्छ । यो सरकार संसदमा सुविधाजनक बहुमतमा छ त्यसैले ओलीजी बाहिरिएर अरु कोही आउने सम्भावना छैन । काग्रेस यही सरकारमा आएर राष्ट्रिय सहमतिको स्वरुप दिन तयार हुनु पर्छ ।’
उपाध्यक्ष ज्ञावलीले सरकारमा नआए पनि सत्ता र प्रतिपक्षमा बस्दा पनि संविधानको कार्यान्वयन गर्न, मुलुकलाई समृद्ध बनाउन र मुलुकको समस्या समाधान गर्न दलहरु एक ठाँउमा आउनै पर्ने भन्दै त्यसकोलागि माध्यम सरकार बन्न सक्ने बताए ।
उनले संसारकै उत्कृष्ट मध्येको र सबैभन्दा बढी सभासदहरुको समर्थनमा बनेको संविधानले सबैलाई अधिकार दिएको दावी गर्दै संविधान जारी भएपछि मौलिक हक कसरी कार्यान्वयन गर्ने भन्ने चुनौति भने थपिएको धारणा राखे ।
उपाध्यक्ष ज्ञावलीले पूर्ण साम्यबाद र पूर्ण प्रजातन्त्र संसारमा कतै पनि सम्भव नभएको भन्दै संविधानमा केही विषयहरु बाँकी छन भने संबैधानिक प्रक्रियाबाट संबोधन गर्दै जान सकिने बताए ।
उनले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणलाई उपलब्धि मुलक बनाउन ब्यापार तथा पारवहन , थप नाका खोल्ने, विप्पा लगायतका सम्झौता गर्न पार्टीले सुझाव दिएको उल्लेख गर्दै भारत र चीन दुबैसँग सम्बन्ध राम्रो बनाएर अघि बढ्नु पर्ने आवश्यकता औल्याए । ज्ञावलीले भने,‘ दुबै मुलुकसँग राम्रो बराबरी, परस्पर लाभ र समानताको आधारमा सम्बन्ध बनाउनुपर्छ । यसैमा नेपालको हित छ ।’