मेरो अतीत हाम्रो आठराई पुस्तक विमोचन

काठमाडौं– पुष्पलाल विष्टद्धारा लिखित मेरो अतीत हाम्रो आठराई नामक पुस्तकको आज विमोचन गरिएको छ ।
रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवम साहित्यकार प्रदिप नेपाल र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतिले संयूक्त रुपमा पुस्तकको विमोचन गरेका हुन ।
कम्यूनिष्ट भुमिगत आन्दोलनको क्रममा आफूले पञ्चायत शासनको विरुद्ध आठराई, झापा, धनकुटा, संखुवासभा, ईलाम र पाँचथरसहितका पूर्वी पहाडमा गरेको अनुभव र जीवनमा घटेका घटना समेटेर विष्टले तयार पारेको रचना विभिन्न ४३ शिर्षकमा २४८ पृष्ठमा समेटिएको छ ।
पुस्तकको समिक्षा गर्दै एमाले पोलिटब्यूरो सदस्य प्रदिप नेपालले नेपालमा ईतिहास लेखन दन्तेकथा जस्तो भएको भन्दै ईतिहास बुझेकाहरुले आफ्नै भोगाई लेखेर भए पनि ईतिहासलाई जिबन्त राख्न सक्नु पर्ने धारण राखे ।
उनले आठराई आन्दोलन नभएको भए झापा आन्दोलन हुने थिएन भन्दै त्यही झापा आन्दोलनबाट नेकपा एमाले निर्माण भएको उल्लेख गर्दै पुस्तकले एमालेको ईतिहासलाई जीवन्त राख्न भूमिका खेलेको बताए ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतिले यो पूस्तक विशेष गरी बामपन्थी सोचका पृष्ठभूमिमा चलाईएका आन्दोलन र विद्रोहको कथा भन्ने अभिप्रायले तयार पारिएको भन्दै बामपन्थी आन्दोलनसँगै आउने प्रजातान्त्रिक आन्दोलन र तिनका नायकहरुका कथाहरु पनि पुस्तकसँग जोडिएकोले पठनीय भएको बताए ।
प्राज्ञ होम पौडेलले बामपन्थी आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेका लेखकको पुस्तक पूर्वको बामपन्थी आन्दोलनको दस्तावेज भएको भन्दै यसले नेपालको बामपन्थी आन्दोलनको ईतिहास बन्ने विश्वास ब्यक्त गरे ।
लेखक विष्टले आफूले किर्ति निष्पक्ष र यथार्थतामा आधारित भएर लेखेकोले ईतिहास बन्ने विश्वास ब्यक्त गर्दै आठराईले समाज र जनताको पक्षमा खेलेको भूमिकलाई ओझेलमा पर्न नदिन काम गर्ने दावी गरे ।