महेन्द्रको आत्मा निर्वाचन आयोगमा प्रवेश गरेर वितण्डा मच्यायोः मन्त्री सिंह
फागुन २७, काठमाडौं– खानेपानी तथा सरसफाईमन्त्री एवम समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले निर्वाचन आयोगले संविधान र कानून विपरित आफ्नो दल खारेज गरेको भन्दै त्यसका विरुद्ध सर्वोच्च अदालत जाने बताएका छन ।
रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘संविधानको धारा २७० ले दलमाथि प्रतिबन्ध लगाउन नपाउने स्पष्ट ब्यवस्था गरेको छ । तर निर्वाचन आयूक्तमा राजा महेन्द्रको आत्मा प्रवेश गरेर वितण्डा मच्याउने काम भएको छ । त्यसका विरुद्ध म बिहीबार सर्वोच्च जान्छु ।’
मन्त्री सिंहले नजिर बसाएर राजनीतिक दलहरुलाई प्रतिबन्ध लगाएर तर्साउने योजना रचिएको दावी गर्दै यसको विरुद्ध सर्वोच्च अदालतमा प्रतिवाद गर्ने बताए ।
उनले लोकतान्त्रिक मुलुकमा राजनीतिक दल खारेज गर्ने निर्णय विडम्बनापूर्ण भएको भन्दै राजनीतिक दललाई खारेज गर्ने ग्राईण्ड डिजाईन अन्र्तगत यो गरिएको परिक्षण भएको बताए ।
मन्त्री सिंहले राजनीतिक दलहरु दलदर्ता ऐन अनुसार दर्ता हुने हुँदा कारवाही पनि दल दर्ता ऐन अनुसार नै हुनु पर्नेमा बदनीयतपूर्ण ढंगले निर्वाचन ऐन अनुसार गरिएकोले यो गैरकानूनी र गैरसंबैधानिक भएको दावी गर्दै संविधानले समान संरक्षणको हक दिएकोले यो त्यस विपरित भएको ठोकुवा गरे ।