लिभरपुल र युनाइटेडको खेल ‘सबै फुटबल खेलको आमा’ः क्लोप

एजेन्सी–लिभरपुलका म्यानेजर जर्गेन क्लोपले म्यानचेष्टर युनाइटेडसँग बिहीबार हुने खेललाई ‘सबै फुटबल खेलको आमा’को संज्ञा दिएका छन्

युरोपा लिगको प्रि क्वार्टरफाइनलमा म्यानचेष्टर युनाइटेड र लिभरपुल भिड्दैछन् । युरोपा लिगमा दुई घरेलु प्रतिद्वन्द्वी पहिलो पटक भिड्न लागेका हुन् ।

घरेलु मैदान एन्फिल्डमा म्यानचेष्टर युनाइटेडसँग खेल्नु अघि क्लोपले यो खेल निकै महत्वपूर्ण भएको बताए । युरोपा लिग उत्कृष्ट रहेको भन्दै उनले भने, ‘मलाई लाग्छ यो खेल मेरो लिभरपुलकोच करियरै ठूलो खेल त होइन । तर, धेरै महत्वपूर्ण छ ।’

म्यानचेष्टर युनाइटेडले तीन युरोपियन कप जितेको छ । पछिल्लो पटक उसले २००८ मा उपाधि जितेको थियो । लिभरपुलले भने ५ पटक जितेको छ । पछिल्लो पटक भने २००५ मा जितेको थियो ।

लिभरपुल युरोपा लिगको तीन पटकको च्याम्पियन हो । र, उसले पछिल्लो पटक २००१ मा जितेको थियो । म्यानचेष्टर युनाइटेडले भने अहिलेसम्म युरोपा लिग जितेको छैन र १९८५ मा क्वार्टरफाइनलमा पुग्नु नै उसको अहिलेसम्मको उत्कृष्ट नजिता हो ।