पार्टीबाहेक मेरो कुनै स्वार्थ छैनः देउवा

कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । दोस्रो चरणको निर्वाचनमा कार्यवाहक सभापति रामचन्द्र पौडेललाई ५२६ मतको अन्तरले हराउँदै देउवा सभापति बनेका हुन् । सोमबार  राति सकिएको मतगणना परिणामअनुसार देउवाले १८२२ मत प्राप्त गरे भने पौडेलले १२९६ मत ल्याए । आइतबार भएको निर्वाचनमा देउवाले बढी मत ल्याए पनि कसैले पनि बहुमत नल्याएका कारण सोमबार पुनः निर्वाचन भएको हो । देउवासँगको कुराकानी ः

अब कसरी पार्टी अघि बढाउनु हुन्छ?

अब मेरो कर्तव्य पार्टी संगठन सबल, सक्षम बनाउने र मुलुक बनाउने हो। एउटा कालखण्डमा पाटी दुइटा भए। गिरिजाबाबु र मैले पार्टी एक बनाएको हो। पार्टीबाहेक मेरो कुनै स्वार्थ छैन। यो पार्टीलाई अब एक बनाएर अघि बढाउने नै हो।

पराजित पक्षलाई कसरी समेट्नु हुन्छ?
यहाँ जित र पराजितको कुरा छैन। पार्टीभित्रको निर्वाचनमा कसैको जित र हारको कुरा हुँदैन। लोकतान्त्रिक अभ्यासअनुसार आन्तरिक प्रतिस्पर्धा मात्रै भएको हो। अब हामी एकठाउँमा छौं। कांग्रेसमा संस्थापन र देउवा पक्ष भन्ने छैन। तपाईंहरूले पनि त्यस्तो रूपमा नलिनुहोस्। हामी सबै एक भएर अघि बढ्नुपर्छ।

चुनावी मैदानमा तीन पक्ष देखियो नि, कसरी मिलाउनु हुन्छ त?
मैले भनिहालें, सबैलाई मिलाएर अघि बढ्छु। आजै पनि (सोमबार बिहान) सहमतिका लागि मैले रामचन्द्रजीलाई भेटें। सिटौलाजीलाई पनि भेटें। मलाई सभापतिमा सहमति गर्नुहोस्, अवसर आउँदा तपाईं प्रधानमन्त्री हुनुहोस् भनेकै हो। सहमति भएन। निर्वाचनबाट म सभापति निर्वाचित भए पनि सबैलाई समेटेर अघि बढ्छु। भागबन्डाको अन्त्य गर्छु। कसैलाई काखा र पाखा गर्दिनँ।

भागबन्डा अन्त्य हुन्छ त?
नभए म किन सभापति हुने? मेरो काम पार्टी एक बनाउने नै हो। मेरो अरू कुनै स्वार्थ छैन। पार्टी एक बनाउन र मुलुक बनाउनकै लागि म सभापतिमा निर्वाचित भएको हो।