कांग्रेससँग मिलेर राष्ट्रिय सहमतिको सरकार बनाइनेःप्रचण्ड

फागुन २५, दाङ–एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले आफू काठमाडौँ फर्किएलगत्तै नेपाली कांग्रेसका नवनिर्वाचित सभापतिसँग भेटी राष्ट्रिय सहमतिको सरकार बनाउन पहल सुरु गर्ने बताएका छन् ।

पश्चिम चितवनको नारायणी नगरपालिका–४ अमृतनगरमा निर्मित सहिद स्मारक प्रतीक्षालयको आज उद्घाटन गर्दै उनले प्रमुख दलहरु सरकारमा नै रहेर संविधान कार्यान्वयन र पुनः निमार्णमा जुट्नुपर्ने बताए ।

उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक दाहालले १६ बुँदे सहमति अनुरुप नै काँग्रेस, नेकपा(एमाले), एमाओवादी सहितका दलको सहभागितामा सरकार निर्माणका लागि समितिको बैठक बसेर पहल सुरु गरिने बताए । उनले भने, ुसंविधान कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण र राष्ट्रिय एकता एवम् समृद्धिका लागि सबै दल एक ठाउँमा उभिनुपर्छ ।ु

सो अवसरमा उनले माओवादीबीचको एकताको गृहकार्य अन्तिम चरणमा पुगेको पनि बताए । सो क्षेत्रमा मङ्गलपुरबाट मेघौलीसम्म जाने सडक कालोपत्रे गर्न, चितवन राष्ट्रिय निकुञ्जका जनावरबाट प्रभावित जनतालाई उचित राहत दिलाउन र नदी कटान रोक्न आवश्यक पहल गरिने आश्वासन पनि उनले दिए ।

सोही क्षेत्रमा विसं २०४२ मा मारिएका मित्रमणि आचार्य तथा २०५९ सालमा एकै साथ मारिएका तारा काफ्ले, कमल फुयाँल, राजु अधिकारी, कालीबहादुर तामाङ र सीता विकको स्मृतिमा एमाओवादीले सो प्रतीक्षालय बनाएको हो ।

नारायणी नगरपालिकाका एमाओवादीका अध्यक्ष विजय भुजेलका अनुसार रु तीन लाख ५० हजारको लागतमा प्रतीक्षालय निर्माण गरिएको हो ।