दुर्लभ बालिकाको जन्म

फागुन २५, दाङ–दाङको तुल्सीपुरमा आन्द्राभूँडी बाहिरै रहेको एक बालिकाको जन्म भएको छ ।

राप्ती अञ्चल अस्पतालमा आन्द्राभुँडी बाहिरै रहेको बच्चीको जन्म भएको हो । तुल्सीपुर–१८ क्वाङ्गी निवासी उर्मिला चौधरी र सोगतवीर चौधरीको पहिलो सन्तानको रुपमा यस्तै आन्द्राभूँडी बाहिरै रहेकी शिशुको जन्म भएको अस्पतालले जानकारी दिएको छ ।

जन्मिएको शिशुको तुल्सीपुर अस्पतालमा आईसीयुमा राखेर उपचार भइरहेको छ । अस्पतालले बच्चीको अगाडिको पेट नै नभएकाले आन्द्राभुँडी बाहिरै रहेर जन्मिएको जनाएको छ । यस्तो बच्चा जन्मिनुमा दुर्लभ घटना मानिन्छ । दुई हजार बच्चामध्ये एक जना बच्चा यस्ता जन्मिने सम्भावना रहने अस्पतालले जनाएको छ ।

यस्तो प्रकृतिको शल्यक्रिया गर्ने व्यवस्था दाङमा नरहेकाले बुटवल वा काठमाडौं लैजान चिकित्सकहरुले सुझाव दिएका छन् । समयमै उपचार पाएमा बच्चीको ज्यान बचाउन सकिने चिकित्सकहरुको भनाइ छ ।

यसैबीच बच्चीका बाबु तुलसीपुर–१८ क्वाङ्गीका २१ वर्षीय सोगतवीर चौधरीले आफ्नी छोरीको जीवन रक्षाका लागि आर्थिक सहयोग गरिदिन आग्रह गरेका छन । बच्चीको उपचारका लागि झन्डै एक लाख रुपैयाँ आवश्यक पर्ने बताइएको छ ।