ओली चीन उड्नुअघि नै किन नेपाल आउँदै छिन् सुष्मा स्वराज?

फागुन २४, काठमाडौं–भारत भ्रमणमा गएको ठीक एक महिनापछि प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा जाँदैछन् । नाकाबन्दी खोलेर भारतको भ्रमण गर्न सम्भव नभएर पहिले चीनको भ्रमण गर्ने घोषणा ओलीले गरेका थिए । ओली चैत सात गते बेइजिङ जाँदैछन् तर त्योभन्दा अघि नै २०७२ चैत ४ गते भारतीय विदेशमन्त्री सुष्मा स्वराज र विदेश सचिव एस जयशंकरले तीन दिने नेपाल भ्रमण गर्दैछन् । स्वराज र जयशंकर पोखरामा हुन गइरहेको सार्क मन्त्रीस्तरी सम्मेलनमा सहभागी हुन आउन लागेका हुन् । तर, यही मौकामा नेपाल सरकारको उच्च नेतृत्वसँग भारतीय सहयोगमा नेपालमा सञ्चालन हुने र भइरहेको प्रोजेक्टहरुको समीक्षा, बाधा व्यवधानका बारेमा निकै गम्भीर छलफल पनि गरिनेछ ।

सामान्यतया बहुपक्षीय कार्यक्रममा अर्को देशमा गएको बेला सो देशसँग द्विपक्षीय विषयमा गम्भीर छलफल गरिँदैन तर स्वराजको हकमा यो लागू नहुने भएको छ । उनले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसहित विभिन्न दलका नेताहरुसँग पनि भेट्ने भएकी छन् । चीन भ्रमणलाई प्रभावित पार्न प्रधानमन्त्री ओलीको भारत भ्रमण गराइएजस्तै चीनसँग दीर्घकालीन सम्झौताहरु नहोस् भन्ने ध्येयले स्वराजले नेताहरु भेट्न लागेकी हुन् कि भन्ने आशंका पनि कूटनीतिक क्षेत्रले गर्न थालेको छ । (साँघु साप्ताहिकबाट)