कांग्रेस कब्जामा प्रदर्शनीमार्ग , ‘जय नेपाल’ नफर्काउने नेताले हातै जोडे

फागुन २४, काठमाडौं–राजधानीको प्रदर्शनीमार्ग प्रायः भीडभाड नै रहन्छ , फागुन २० गतेपछि भने नेपाली कांग्रेसका कार्यकर्ताको कब्जामा छ । पार्टीको १३ औं महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा बन्दसत्र चल्दै गर्दा बाहिर सडकमा ३ वटै पायनलका कार्यकर्ता आ–आफ्नो पक्षमा मत माग्न ओहोरदोहोर गरिरहेका देखिन्थे । आइतबार राष्ट्रिय सभागृहमा नेतृत्व चयनका लागि मतदान भइरहँदा पनि कार्यकर्ता उत्तिकै जोशजाँगरका साथ प्यानलगत मत मागिरहेका थिए ।

खुलामञ्चमा फागुन २० गते निकै तामझामका साथ महाधिवेशन उदघाटनपछि त्यही साँझदेखि भृकुटीमण्डपभित्र प्रतिनिधिलाई खाना खाने व्यवस्था मिलाइएको थियो । त्यसकारण उद्घाटन सत्र सुरु भएलगत्तै महाधिवेशन प्रतिनिधि भृकुटीमण्डप आउने क्रम सुरु भएपछि त भृकुटीमण्डपमा चहलपहल मात्र बढेन कि नाराबाजी र चर्को माइकिङले कोलाहाल नै भयो ।

‘अरु बेला हामीले जय नेपाल गर्दा नफर्काउने नेताहरु पनि अहिले पटकपटक हात जोडिरहनु भएको छ,’ एक महाधिवेशन प्रतिनिधिले भने, ‘लोकतन्त्रको सुन्दर पक्ष यही हो । कम्तीमा महाधिवेशनका बेला त नेताले हाम्रो सम्मान गर्नैपर्छ ।’ (कारोबार दैनिकबाट)