बर्दियामा जन्ती बस दुर्घटना, चारको मृत्यु

फागुन २३, बर्दिया–बर्दियामा जन्ती बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। अन्य २० जना घाइते भएका छन्।

दुलही लिएर बर्दियाको धधवार–७ दुध्धाबाट बबई नगरपालिका–१० शाहीपुर फर्किदै गरेको भे १ ख ८५४ नम्बरको जन्ती बस गएराति ११ बजेतिर बबई नगरपालिका–६ मैनवार भन्ने ठाउँमा पल्टिदा चारजनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी नायक निरिक्षक दुर्गा भट्टले जानकारी दिए।

दुर्घटनामा १९ वर्षीय सन्तोष थारु, १९ वर्षकै निरज थारु, १४ वर्षीय अरुण थारु र  १७ वर्षीय बिष्णु थारुको घटनास्थलमै मृत्यु भएको भट्टले बताए।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा भर्ना गरिएको प्रहरीले जनाएको छ। घाइतेहरु मध्ये १० जनाको अवस्था गम्भीर रहेको छ। बस र चालक नारायण पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार बेहुला र बेहुली अर्को सवारी साधनमा भएकाले उनीहरु सकुशल छन्।