सभापति पदका लागि रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता

फागुन २१, काठमाडौं– नेपाली कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

पार्टी कार्यालय सानेपा पुगेर शुक्रवार विहान ९ बजे पौडेलले उम्मेदवारी दर्ता गराएका हुन्। पौडेलको प्रस्तावकमा महामन्त्री प्रकाशमान सिंह छन् भने समर्थकमा डा रामशरण महत रहेका छन्।

पौडेलसँगै महामन्त्री पदका लागि डा शशांक कोइराला र कोषाध्यक्षमा सीतादेवी यादवले पनि उम्मेदवारी दर्ता गराएका छन्। पौडेलसहित कोइराला र यादव उम्मेदवारी दर्ताका लागि कार्यकर्तासहित पार्टी कार्यालय पुगेका थिए।

यसअघि बिहीवार नै सभापतिका प्रत्याशी कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका थिए।

पार्टीको उद्घाटन कार्यक्रममा सहभागी भएका देउवाले आफ्नो उम्मेदवारी दर्ता पार्टी नेता रमेश लेखकलाई वारेसनामा दिएर पार्टी मुख्यालय सानेपामा बिहीवार पौने तीन बजे उम्मेदवारी दर्ता गराएका हुन्।

देउवाको उम्मेदवारीमा पार्टीका पुराना नेता केबी गुरुङ प्रस्तावक र अर्का नेता खुमबहादुर खड्का समर्थक रहेका छन्।