पौडेल पक्षबाट कोषाध्यक्ष सीतादेवी यादव

फागुन २१, काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेल समूहले कोषाध्यक्षमा सिरहाकी सांसद सीतादेवी यादवलाई उम्मेदवार बनाएको छ।

शुक्रवार विहान भएको  पौडेल समूहका नेताहरुको छलफलले कोषाध्यक्षमा यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। यादव सिरहा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद पनि हुन्।

कोषाध्यक्षकी उम्मेदवार बनेकी यादव सिरहाकी पूर्व पार्टी सभापति पनि हुन्। यादवले दुई कार्यकाल सिरहा जिल्ला सभापति भएर काम गरिसकेकी छिन्। २०५८ सालमा पार्टी विभाजन हुँदा संस्थापन पक्षबाट जिल्ला सभापति हुने यादव पहिलो नेतृ हुन्।

यसअघि बुधवार संस्थापन पक्षले सभापतिका लागि कार्यबाहक सभापति रामचन्द्र पौडेल र महामन्त्रीमा डा शशांक कोइरालालाई उठाउने निर्णय गर्दै दुईजनालाई मात्रै समेटेर प्यानल घोषणा गरेको थियो।