गर्भवतीको मृत्युपछि अञ्चल अस्पताल तनावग्रस्त

फागुन २०,बुटवल– प्रसुती हुन अस्पतालमा भर्ना भएकी एक महिलाको मृत्यु भएपछि दिनभरी तनावग्रस्त बनेको लुम्बिनी अञ्चल अस्पताल बुटवल साँझ ६ बजेदेखि सामान्य बन्दै गएको छ।

सुत्केरी व्यथा लागेपछि मंगलबार राति अस्पतालमा भर्ना भएकी नवलपरासी सुनवल ६ कि ३० वर्षीया  रामकुमारी तामाङको मृत्यु भएपछि बुधवार दिनभर अस्पतालमा तनाव भएको हो।

मंगलबार साँझ सुत्केरी हुन आएकी तामाङको राति १२ बजेबाट अत्यधिक रक्तश्राव भएपनि नर्सहरुले चिकित्सकलाई खबर नगरेको कारण मृत्यु भएको भन्दै मृतकका आफन्तले दिनभर अस्पताल घेराउ गरेका हुन्।

मृतकका आफन्तले अस्पतालका चिकित्सक र नर्सहरुलाई कारबाही गर्नुपर्ने माग गर्दै दिनभर प्रसुती कक्षबाट शव समेत उठाउन दिएका थिएनन्। मृतकका आफन्तको प्रदर्शन पछि दिनभर प्रशुती कक्ष प्रहरीले नियन्त्रणमा लिएको थियो। जसका कारण बुधवार अस्पतालको प्रशुती कक्ष प्रभावित बन्यो।

मृतकका आफन्त, अस्पताल प्रशासन र प्रहरी प्रशासनका विचमा छलफल शुरु भएपछि आफन्तले मृतकको शव उठाउन दिएका छन्। तामाङको शव पोष्टमार्टमका लागि अस्पतालको शव गृहमा राखिएको छ।

यता अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा राजेन्द्र खनालले छानबिन समिति गठन गरेर सत्यतथ्य पत्ता लगाउने र दोषीलाई कारबाही गर्ने बताएका छन्। अहिले मृतकका आफन्त, अस्पताल प्रशासन र प्रहरी प्रशासनका विचमा छलफल भईरहेको बताईएको छ।

अस्पतालका मेडिकल रेकर्ड अधिकृत लक्ष्मीराज रेग्मीका अनुसार हरेक महिना साढे ६ सय भन्दा धेरै प्रशुती हुने अञ्चल अस्पतालमा वर्षमा ४ जनासम्मको प्रशुतीको क्रममा मृत्यु हुने गरेको छ।