फागुन २०,जाजरकोट–द्वन्द्वकालमा विस्थापित भएको भुरको पोख्रास्थित प्रहरी चौकी निर्माणका लागि स्थानीयवासीले घडेरी दिने बताएका छन् ।
स्थानीयवासी भक्ति शर्माले त्यतिबेला विस्थापित प्रहरी चौकी भवनको पुनः स्थापना गर्न माग गरे ।
प्रहरी चौकी नहुँदा यहाँ धेरै आपराधिक गतिविधि हुनुका साथै शान्ति सुरक्षासमेत प्रभावित हुँदै आएको उनको भनाइ छ ।
प्रहरी चौकी निर्माण गर्नका लागि दुई रोपनी जग्गा दिनेसमेत शर्माले घोषणा गरे। फागुन १९ गते प्रहरी चौकी निर्माण गर्नका लागि घडेरी हेर्न जाजरकोटका प्रहरी प्रमुख दानबहादुर मल्ललाई पोख्राका स्थानीयवासीले बोलाएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । प्रहरी चौकी निर्माणका लागि धेरै जग्गा दिने स्थानीयवासी भेटिएको उनले बताए ।
स्थानीयवासीको मागअनुसार छिट्टै पोख्रामा प्रहरी चौकी स्थापना गरिने प्रहरी प्रमुख मल्लले जानकारी दिनुभयो । भवन निर्माणका लागि जग्गा पास गरेर चैत महिनाभित्र प्रहरी चौकी स्थापना गरिने उनले वताए।