दर्जनभन्दा बढी छाउपडी गोठ भत्काइयो

फागुन १८, कंचनपुर– कंचनपुरको झलारी पिपलाडी नगरपालिका–११ अमरपुरका बासिन्दाले बनाएका एक दर्जनभन्दा बढी छाउपडी गोठ स्थानीय महिलाले भत्काएका छन् ।

वैजनाथ महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा आबद्ध महिलाले १३ वटा छाउपडी गोठ भत्काएका हुन्।  छाउपडी प्रथा उन्मूलनका लागि सहकारीमा आबद्ध महिलाले योजनाबद्ध रुपमा छाउपडी गोठ भत्काउने कार्य थालिएको बताएका छन् ।

छाउपडी प्रथा हटाउन वर्षौंदेखि थालिएका प्रयास प्रभावकारी बन्न नसकेपछि यहाँका महिलाले योजनाबद्ध तरिकाले छाउपडी प्रथा हटाउनका लागि सचेतना फैलाउँदै गोठ भत्काउने अभियान थालेको सहकारीका अध्यक्ष द्वारीकादेवी कुँवरले बताए।

ुअझै पनि गाउँका अधिकांश महिला महिनावारी भएका समयमा घरभन्दा टाढा रहेको गोठमा बस्ने गरेका कारण विभिन्न समस्या बल्झिने गरेकाले गोठ नै भत्काउने अभियान थालेका हौँ,उनले भने। ु

“छुट्टै गोठमा बस्दा बलात्कार हुने, सर्प, बिच्छीले डस्ने, खुट्टा खुम्च्याएर सुत्नुपर्नेलगायतका धेरै बेफाइदा हुँदा सहकारीमा आबद्ध सबैजना महिला एकबद्ध भएर अगाडि बढेका छौँ” – उनले भने।