त्रिवि बचाउन भन्दै प्राध्यापकहरु आन्दोलित

फागुन १६, काठमाडौं –त्रिभुवन विश्वविद्यालयले राजनीतिक आस्थाका आधारमा करारमा कार्यरत विभिन्न दलका प्राध्यापकलाई सेवा आयोगमार्फत स्थायी गर्न लागेको भन्दै नयां शक्तिमा आवद्ध प्राध्यापक आन्दोलनमा उत्रिएका छन् ।
त्रिवि सेवा आयागले गरेको विशेष आन्तरिक खुला नामको विज्ञापन नं.०८÷२०७२÷०७३ विज्ञापन त्रिविको ऐन, नियम विपरित गरेको भन्दै उक्त विज्ञापन तत्काल रद्द गरी खुला विज्ञापन गरी नयां दक्ष जनशक्तिलाई त्रिविमा प्रवेश गराउनपर्छ भन्ने एकसुत्रीय माग राखी प्राध्यापकले आन्दोलन चर्काएका हुन् ।
रिर्पाेर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनमा नयां शक्तिमा आवद्ध विद्यार्थी केन्द्रीय संयोजक ओमकुमारी पौडेलले कुनैपनि हालतमा राजनीतिक आस्थाका आधारमा त्रिविको प्राज्ञिक मुल्य र मान्यतालाई ध्वस्त पार्न नदिने उदघोष गरिन् ।  ‘जस्तो सुकै मूल्य चुकाएर भएपनि करारका शिक्षकहरुलाई स्थायी गर्ने त्रिविको गैर कानुनी निर्णयको भण्डारफोर गर्छौ’ उनले सम्पूर्ण स्वतन्त्र प्राध्यापक,विद्यार्थी एवं संचारमाध्यामलाई सहयोग गर्न आग्रह गरिन् ।
त्रिविका उपकुलपति प्राडा तीर्थराज खनियाँले विशेष राजनीतिक परिस्थितिका कारण विगतमा गरिएको उक्त निर्णय अब उल्टाउन नसक्ने भन्दै हाल खुला गरिएको विज्ञापन त्रिविको दरवन्दी अनुसार नभई अर्थमन्त्रालय,शिक्षामन्त्रालय र विश्वविद्यालय अनुदान आयोगको विशेष पहलमा प्राप्त भएको विशेष दरवन्दी रहेको प्रस्टाए । आफूहरु त्रिविमा नया पुस्ताको प्रवेशलाई रोक लगाउने पक्षमा नरहेको भन्दै भविष्यमा उत्कृष्ट नजिता प्राप्त गर्ने विद्यार्थीलाई सिधै त्रिवि सेवामा प्रवेश गराउन पहल भइरहेको समेत बताए । ‘अघिल्लो पदाधिकारी र सरकार विच भएको सहमति अनुसार भइरहको काम आफुले उल्टाउने कुनैपनि कानुनी आधार नरहेको भन्दै अझैपनि आन्दोलनरत प्राध्यापकहरुसग वार्ता र सहकार्य गरि त्रिविलाई शैक्षिक उन्नयनको मार्गमा अघि वढाउन आफु प्रयत्नशील रहेको बताए ।