देउवा समूहको विरोधका बाबजूद पदाधिकारी बढाउने संस्थापन पक्षको तयारी

फागुन १२, काठमाडौं– कांग्रेसको संस्थापन पक्षले बरिष्ठ नेता शेरवहादुर देउवा समूहको विरोधका बाबजूद पदाधिकारीको संख्या बढाउने प्रस्ताव केन्द्रीय कार्यसमितिको बैठकमा लाने तयारीमा जुटेको छ । सभापतिका लागि आंकाक्षीहरुको व्यवस्थापन गर्न संस्थापन पक्ष विधान संशोधन मार्फत पदाधिकारीको संख्या बढाउने प्रयासमा लागेको हो । पार्टी प्रवक्ता दिलेन्द्र बडुका अनुसार विहिबारको केन्द्रीय कार्यसमितिको बैठकमा पदाधिकारी थप गर्नेसहितको विधान संशोधन मस्यौंदा छलफलका लागि केन्द्रीय कार्यसमितिको बैठकमा पेश हुनेछ । पदाधिकारी बढाउने बिषयमा संस्थापन पक्षभित्र मत विभाजित छ । देउवा समूहले अस्वीकार गर्ने अवस्थामा पदाधिकारी थप गर्ने बिषयलाई केन्द्रीय कार्यसमितिको बैठकमा प्रवेश गराउन नहुने पक्षमा महामन्त्रीद्वय प्रकाशमान सिह र कृष्णप्रसाद सिटौला छन् । कार्यबाहक सभापति रामचन्द्र पौडेल, प्रवक्ता बडु, केन्द्रीय सदस्य सुजाता कोइराला, विधान मस्यौदा समितिका संयोजकसमेत रहेका आनन्द ढुंगानालगायतका नेताहरु देउवा समूहको असहमति भएपनि बहुमतको आधारमा निर्णय लिनुपर्ने पक्षमा उभिएका छन् ।( कान्तिपुर दैनिकबाट)