काँग्रेसको आन्तरिक विवादले १० जिल्लामा अधिवेशन बाँकी

फागुन, ११ काठमाडौं-
नेपाली कांग्रेसले आन्तरिक विवादका कारण दस जिल्लाको अधिवेशन गर्न सकेको छैन । सोमबार बेलुकासम्म अधिवेशन हुन नसकेका ती जिल्लालाई तत्कालका लागि यथावत राख्ने तयारी कांग्रेसले गरेको छ ।

बारा, पर्सा, धनुषा, सिराहा, कञ्चनपुर, बझाङ, डोल्पा, सिन्धुपलाञ्चोकलगायत करिब १० जिल्लामा आन्तरिक विवाद र स्थानीय नेतृत्वको सहमतिमा १३औँ महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन सम्पन्न हुने सङ्केत देखिएको एक नेताले बताए ।

सिन्धुपलाञ्चोकमा अधिवेशन गर्ने स्थानको विवादले अधिवेशन स्थगित गरिएको छ । सङ्खुवासभामा दुई उम्मेदवारका बीच मत बराबर भएपछि जिल्ला सभापतिको चयन हुन नसकेको हो ।

सङ्खुवासभामा निर्वाचन समितिले गोलाप्रथाद्वारा चयन गर्ने भनेको छ भने बराबरी मत प्राप्त गर्ने उम्मेदवारले भने कार्यकाल अवधि बाँडेर काम गर्ने धारणा राखेकाले टुङ्गो लाग्न बाँकी छ ।

कांग्रेस निर्वाचन निर्देशिकामा बराबरी मत प्राप्त गर्ने उम्मेदवारबीच गोलाप्रथाद्वारामात्र छनौट गर्ने प्रावधान छ ।