रोल्पामा आत्महत्याको घटना बढ्दै

फागुन, ११ रोल्पा-
छिल्लो समय रोल्पामा आत्महत्या गर्नेहरुको संख्यामा वृद्धि भएको छ । पाँच वर्षयता रोल्पामा २ सय १३ जनाले आत्महत्या गरेका छन् । जुन जिल्ला प्रहरी कार्यलयको तथ्यांकमा मात्र उल्लेखित संख्या हो ।

आत्महत्यापछि प्रहरीमा जाहेरी नगरिएका थुप्रै घटना तथ्यांकमा छैनन् । यसले रोल्पामा आत्महत्याको अवस्था भयावह बन्दै गएको पुष्टि गरेको छ ।

शनिबार प्रहरी जवान होमबहादुर थापाले व्यारेकमै आत्महत्या गरेपछि आत्महत्याबारेको चिन्ता र चर्चा चुलिएको हो ।

प्रहरीको तथ्यांकलाई आधार मान्ने हो भने गरिबी र मानसिक रोगका कारण जिल्लामा आत्महत्याका घटना बढ्दै गएका हुन् ।

तथ्यांक अनुसार आर्थिक वर्ष २०६७र०६८ देखि २०७१र२०७२ सम्म् पाँच बर्षमा रोल्पामा २ सय ६ जनाले आत्महत्या गरिसकेका छन् । आत्महत्या गर्नेमा महिला ९४ र पुरुष १ सय १२ जना छन् ।

विगतका बर्षको तुलनामा आत्महत्या बढ्दै गएको छ । आत्महत्या गर्नेहरुमा विवाहित बढी छन् । १ सय ७७ विवाहितले आत्महत्या गरेको तथ्यांक छ । १२ बालबालिकाले पनि आत्महत्या गरेका छन् । १५ देखि ४० वर्ष उमेर समूहकाले धेरै आत्महत्या गरेको प्रहरी प्रमुख रमेश थापा बताउँछन् ।

आत्महत्याको कारणमा प्रहरीको प्रारम्भिक अनुसन्धानमा गरिबी, दीर्घरोग, मानसिक असन्तुलन, पारिवारिक तनाव, घरेलु हिंसा, मादक पदार्थ सेवन मानसिक तनाव र असफलता देखिएका छन् ।