संयन्त्रको कार्यक्षेत्रबारे सरकार लचक रहेको उपप्रधानमन्त्री रावलको भनाई

फागुन १०, काठमाडौं– उपप्रधानमन्त्री तथा रक्षामन्त्री भिम रावलले राजनीतिक संयन्त्रको क्षेत्राधिकार सहमतिका आधारमा तय गर्न सरकार तयार रहेको बताएका छन्।

सरकारले कार्यक्षेत्र तय हुन बाँकि रहेकै अवस्थामा एकतर्फी रुपमा संयन्त्र गठन गरेको विषयलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले असन्तुष्टि प्रकट गरिरहेका बेला उपप्रधानमन्त्री तथा रक्षामन्त्री रावलले संयन्त्रको कार्यक्षेत्र सहमतिमा आधारमा तोकिने बताए। उनले सोमबार नेपाल पत्रकार महासंघको काठमाडौ जिल्ला शाखाको वार्षिक साधारणसभाका क्रममा संयन्त्रमा रहने सदस्यहरु पनि सहमतिकै आधारमा तोकिने बताए।

सरकारले फागुन ६ गते बेलुकी उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाको संयोजकत्वमा ११ सदस्यीय राजनीतिक संयन्त्र गठन गरेको थियो। सीमांकनको विवाद् टुंग्याउनका लागि सिफरिस गर्न गठित संयन्त्रको क्षेत्राधिकार र संयन्त्रमा रहने अन्य सदस्यको टुंगो लाग्न बाँकि छ।