प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री थापावीचको मतभेद सतहमै

फागुन ७, काठमाडौं– प्रधानमन्त्री केपी ओली र उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाबीच भारत भ्रमणको तयारीलाई लिएर मतभेद सतहमै देखा परेको छ।
प्रधानमन्त्री भ्रमणको तयारी र एजेन्डा तय गर्न परराष्ट्र मन्त्रालयलाई कुनै भूमिका नदिइएकामा थापा ओलीसित असन्तुष्ट भएको स्रोतहरूले जनाए।

प्रधानमन्त्रीले भारत भ्रमणबारे आफैंले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री थापा असन्तुष्ट प्रकट गर्दै उपस्थित भएनन्। प्रधानमन्त्रीले २ बजे राखेको पत्रकार सम्मेलनभन्दा एक घण्टापछि उपप्रधानमन्त्री थापाले पनि परराष्ट्र मन्त्रालयमा छुट्टै पत्रकार सम्मेलन गर्ने निम्ता पठाएका थिए।

तर पछि एकाएक परराष्ट्र मन्त्रालयमा आयोजना गर्ने भनिएको पत्रकार सम्मेलन रद्द भयो। प्रधानमन्त्री कार्यालयमा हुने पत्रकार सम्मेलन बुधबारै तय भएको थियो। परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलनको तयारी बिहीबार बिहान तय भएको हो। पत्रकार सम्मेलनको खबर गरेको ३५ मिनेटमा नै परराष्ट्रले रद्द भएको सूचना जारी गर्यो।

प्रधानमन्त्री र परराष्ट्रमन्त्री थापाको आपसी व्यवहारबाट समेत दुई नेताबीच मतभेद रहेको पत्रकार सम्मेलनमा नै प्रस्ट देखिएको परराष्ट्रका अधिकारीले बताए।(कान्तिपुर दैनिकबाट)