बुधबारदेखि भारतबाट १५ मेगावाट बिजुली आयात

फागुन ६, काठमाडौं–विद्युत प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन हुँदै बुधबारदेखि भारतबाट १५ मेगावाट बिजुली आयात गरेको छ ।
प्राधिकरण र भारतीय कम्पनी एनभीभीएनबीच सोमबार भएको सम्झौताअनुसार भारतबाट नेपाल–भारतबीचको पहिलो अन्तरदेशीय प्रसारण लाइनबाट बुधबारदेखि बिजुली आयात गर्न थालिएको हो ।

एनभीभीएनले ढल्केबर–मुजफ्फर प्रसारण लाइनबाट प्राधिकरणलाई ८० मेगावाट बिजुली दिने सम्झौतामा उल्लेख छ । एनभीभीएनले उत्पादक कम्पनीहरूसित बिजुली खोज्न समय लागेकाले बुधबार १५ मेगावाटमात्र बिजुली नेपाल निर्यात भएको जानकारी विद्युत प्राधिकरणको भार प्रेषण केन्द्रका प्रमुख भुवन क्षेत्रीले दिए ।

‘अन्तरदेशीय प्रसारण लाइनबाट बुधबारदेखि १५ मेगावाट बिजुली आयात सुरु भएको छ’ क्षेत्रीले बताए।(कान्तिपुर दैनिकबाट)