फागुन ४, काठमाडौं– सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा चलिरहेको अनेरास्ववियुको २२ औँ राष्ट्रिय सम्मेलनमा अध्यक्ष केपी ओली र नेता माधव कुमार नेता पक्षका नेताहरु प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन्।
ओली पक्षबाट अध्यक्षमा महासचिव नविना लामाले आफ्नो प्यानल नै बनाएर उम्मेदवारी दिएकी छन् भने नेपाल पक्षबाट उपाध्यक्ष दिपक गौतमले प्यानल सहित मनोनयन दर्ता गराएका छन्।
प्रतिनिधिसम्बन्धी विवादका कारण अनेरास्ववियुको सम्मेलन फागुन १ गते नै सकिने बताइएपनि तीन दिन बढी लम्बिएको छ। सोमबार साँझ मनोनयन दर्ता प्रक्रिया सकिएको र निर्वाचन कार्यतालिका समेत सार्वजनिक भइसकेककाले मंगलबार मतदान हुन लागेको प्रवक्ता आरसी लामिछानेले जानकारी दिए।
लामा समूहबाट उपाध्यक्षमा रश्मि आचार्य, सुतिता बराल, महेश बर्तौला र शैलेश लामा उम्मेदवार बनेका छन् भने महासचिवमा ऐन महर, सचिवमा समिक बडाल, आरसी लामिछाने, वसन्त ढकाल, मकर खड्का, जनजातिबाट अमृत बूढा, महिलाबाट कमला बोहरा, मधेसीबाट दुर्गानन्द ठाकुर र कोषाध्यक्ष झपेन्द्र खत्री छन्।
गौतम समूहका उपाध्यक्षमा जीवन राई, राधिका खतिवडा, नीलकण्ठ आचार्य र सरोज यादव चुनावी मैदानमा उत्रिएका छन् भने महासचिवमा अब्दुल हुसेन खाँ, सचिवमा भीम रावल, सुरेश पराजुली, अशेष घिमिरे, जनजातिबाट गौतम राई, महिलाबाट आरती लामा, खुलाबाट भक्तकुमारी लामा, मधेसीबाट ओसिम आलम र कोषाध्यक्षमा कमल शाही उम्मेदवार बनेका छन्।
सम्मेलनले अनेरास्ववियुको १७ पदाधिकारीसहित १ सय ४२ सदस्यीय नयाँ केन्द्रीय समिति चयन गर्नेछ। सम्मेलनमा देशभरबाट १५ सय प्रतिनिधि सहभागी रहेको प्रवक्ता लामिछानेले जानकारी दिए।