रंगेली र डायनिया घटनाको अनुसन्धान गर्न आयोगको उच्चस्तरीय टोली मोरङ्ग

फागुन ४, काठमाडौं–यही माघ ७ गते मोरङ्गको रंगेली र डायनियामा संयुक्त सुरक्षा कारवाहीका क्रममा तीन जना सर्वसाधारणहरु मारिएको घटनाको सम्बन्धमा अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोगले एक उच्च स्तरीय अनुसन्धान टोली खटाएको छ ।
अनुसन्धान टोलीमा आयोगका सदस्य तथा प्रवक्ता मोहना अन्सारी, सदस्य गोविन्द शर्मा पौड्याल, क्षेत्रीय निर्देशक र अधिकृतहरु रहेका छन् । घटनाको अनुसन्धान गर्न टोली रंगेली पुगेर अनुसन्धानको कार्य प्रारम्भ गरेको छ । अनुसन्धान टोलीले घटनास्थलको निरीक्षण गर्नुका साथै जिल्लाका प्रशासन प्रमुख, सुरक्षा निकायका प्रमुखहरु र साक्षीहरुसँग छुट्टाछुट्टै रुपमा घटना सम्बन्धमा वयान लिने लगायतका कार्यहरु गरिरहेको छ ।
प्रहरीले चलाएको गोली लागेर रंगेली ४, चोपडा टोलकी ६० वर्षीया द्रोपदीदेवी चौधरी, बरडंगा २ का महादेव ऋषिदेव र डायनिया ९ का शिवु माझीको मृत्यु भएको आयोगको प्रारम्भिक अनुगमन प्रतिवेदनमा उल्लेख छ ।