कांग्रेस महाधिवेशनः संस्थापनमा सभापतिको उम्मेदवार छान्न सकस

फागुन ४, काठमाडौं– पार्टी सभापति सुशील कोइरालाको निधन भएपछि कांग्रेसको संस्थापन पक्षभित्र सभापतिको उम्मेदवार को बन्ने भन्नेमा ठूलै सकस पर्ने देखिएको छ।
आसन्न महाधिवेशनका लागि उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौला, नेतृ सुजाता कोइराला र नेता रामशरण महतले सभापतिमा उम्मेदवारी दिने भन्दै प्रचार थालेका छन्।

सिटौला, सिंह, महत र सुजाता चारैजनाले पौडेल पार्टीभित्र अत्यन्त कमजोर भएको भन्दै सभापतिमा उनले जित्न नसक्ने दाबी गर्दै आएका छन्। सिटौलाले हालै केन्द्रीय सदस्य शशांक कोइरालाको निवासमा बसेको केही केन्द्रीय सदस्य सहभागी अनौपचारिक बैठकमा पौडेलले ३ सयभन्दा बढी मत ल्याउन नसक्ने भन्दै आफू सबैभन्दा बलियो उम्मेदवार भएको दाबी गरेका थिए।

सिटौलाले देशभरका महाधिवेशन प्रतिनिधिलाई टेलिफोन सम्पर्क गरेर सभापतिमा सहयोग गर्न आग्रह गर्दै आएका छन्। सिटौला जस्तै सुजाताले पनि प्रचार तीब्र पारेकी छन्। यस्तै सिंहले पनि आफ्नो प्रचार तीब्र बनाइरहेका छन्। (अन्नपूर्ण पोष्ट दैनिकबाट)