भुस्याहा कुकुर नियन्त्रणमा

फागुन ३, चितवन– चितवनको भरतपुर उपमहानगरपालिका र आसपासका क्षेत्रमा भुस्याहा कुकुरबाट हुने समस्या समाधान हुंदै गएको छ ।

हिमालयन एनिमल रेस्क्यु ट्रष्ट नामक संस्थाले जिल्ला पशुसेवा कार्यालय चितवनसँग समन्वय गरेर रेबिज रोग नियन्त्रण मुख्य उद्देश्यसहित कुकुरको बन्ध्याकरण र उपचार थालेपछि भुस्याहा कुकुरको समस्या समाधानतर्फ उन्मुख भएको हो ।

सो संस्थाले एक वर्षअघिदेखि पोखरामा थालेको बन्ध्याकरण अभियानमा हालसम्म दुई हजार ७६३ वटा कुकुरको बन्ध्याकरण गरेको जनाएको छ । संस्थाले मनाङ, जुम्ला, सोलुखुम्बु, कैलाली, दोलखा, झापा, सुनसरी, मोरङ, इलामलगायतका जिल्लामा नियमित रुपमा शिविर गरेर कुकुरको बन्ध्याकरणसमेत गर्दै आएको पशु चिकित्सक संजीव पण्डितले बताए । उका अनुसार वर्षमा सात, आठवटा शिविरमार्फत एक हजारभन्दा बढी कुकुरको बन्ध्याकरण र उपचार गरिँदै आएको छ ।

भरतपुरमा मात्रै दैनिक पाँच छवटा कुकुरको बन्ध्याकरण गर्ने गरेको उनले बताए।