समलिङ्गी विवाहलाई पनि मान्यता दिने सिफारिसले ल्यायो खुसी

फागुन ३, झापा– राष्ट्रिय मानवअधिकार आयोगले समलिङ्गी विवाहलाई पनि मान्यता दिन सिफरिस गरेपछि पूर्वका समलिङ्गीहरुमा खुसियाली छाएको छ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको अधिकारका लागि काम गर्दै आएको नील हिरा समाज दमककी कार्यक्रम प्रमुख चंचला सुब्बाले ढिलै भए पनि आफूहरुको मुद्दाको विषयमा आयोगले सरकारलाई सिफारिस गर्नु सुखद र आफूहरुका लागि खुसीको खबर भएको बताइन्।
उनले आफूजस्ता जोडीले चाँडै कानुनी हैसियत पाउने हुँदा आयोगको सिफारिस स्वागतयोग्य रहेको बताइन्।

नयाँ संविधान जारी भएपछि आफूहरुले हक अधिकार पाएमा योभन्दा खुसीको क्षण अरु नहुने उनको भनाइ छ। पूर्वमा करिब ३०० जोडी सम्बन्ध लुकाएर बस्न बाध्य भएको समेत उनले बताइन्। उनका अनुसार झापामा मात्रै त्यस्ता जोडी १०० भन्दा बढी छन्।
नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (समलिङ्गी तेस्रोलिङ्गी)को विषयमा २०६४ पुस ६ गते सर्वोच्च अदालतले दिएको आदेशपछि समलिङ्गी र तेस्रोलिङ्गीलाई लिङ्गको महलमा अन्य उल्लेख गरेर नागरिकता दिनसमेत सुरु गरिएको छ।
नील हिरा समाजका अनुसार अहिलेसम्म नेपालका १२ जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले मात्रै नागरिकता लिएका छन्।