कृषि यान्त्रिकरण महोत्सव कोहलपुरमा

फागुन ३, काठमाडौं–कृषिमा यान्त्रिकरण पद्धति अपनाऔं, कृषकको उन्नति गरौं भन्ने मूल नाराका साथ दोश्रो राष्टिय यान्त्रिकरण प्रदर्शनी आयोजना हुने भएको छ  ।
यही फागुन २३ गतेदेखि २७ गतेसम्म बाँकेको कोहलपुरमा हुने प्रदर्शनीमा कृषि औजार, उपकरण तथा यन्त्रका साथै बैंक तथा वित्तीय संस्था गरी कुल एकसय ५० भन्दा बढी स्टल रहने आयोजक संस्थाले जनाएको छ ।
मेलामा एकहजार भन्दा बढी कृषि औजार तथा उपकरण रहने आयोजक संस्था कृषि इन्जियरिङ निर्देशनालय र नेपाल कृषि मेसिनरी व्यवसायी संघले आइतबार ललितपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
कृषि उपकरणको प्रयोगमामार्फत कृषिको व्यवसायिकरणमा जोड दिने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको आयोजक संस्था कृषि इन्जिनियरिङ निर्देशनालयका निमित्त कार्यक्रम निर्देशक मधुसुदन बस्नेतले बताए ।

मेलाबाट कृषि यन्त्र उपकरण तथा सेवाको आन्तरिक बजार प्रवद्र्धनमा सहयोग पुग्ने, कृषि यन्त्र व्यवसायी र कृषकबीच समन्वय हुने, व्यवसायिक चेतना अभिबृद्धि हुने, लगानीको अवसर सिर्जना हुने आयोजकको अपेक्षा छ ।  निशुल्क स्टल र निशुल्क प्रवेशको व्यवस्था गरिएको मेला ५० हजारभन्दा बढीले अवलोकन गर्ने बताइएको छ ।