पोखराका ४३६ ले मुटुरोगको परीक्षण गराए

फागुन ३, पोखरा–सेभ द हार्ट, सगरमाथा टेलिभिजन र त्रिवेणी एकेडेमीको संयुक्त आयोजनामा पोखराको लेखनाथ नगरपालिकामा एकदिवसीय निःशुल्क मुटु शिविर सम्पन्न भएको छ ।
उक्त शिविरमा बरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईको नेतृत्वको चिकित्सिकको टोलीले करिब ४ सय ३६ जनाको मुटु परिक्षण गरेको सेभ द हार्टका सचिव शेरबहादुर रानाले जानकारी दिए ।
रानाका अनुसार शिविरमा परिक्षण गरिएका विरामीहरुमध्ये ७ जनाको तत्कालै शल्यक्रिया गर्नुपर्ने देखिएको छ भने १५ जनाको केही पछि गर्दा हुने देखिएको छ ।
शिविरमा ई.सी.जी, ईको लगायतका परिक्षणहरु निःशुल्क गरिएको थियो भने विरामीहरुलाई आवश्यक औषधी समेत वितरण गरिएको सचिव रानाले जानकारी दिए ।
बरिष्ठ मुटुरोग विशेषज्ञ डा भट्टराईले पछिल्लो समय नेपालमा मुटुरोगीहरुको संख्या बढिरहेको भन्दै बेलैमा यसवारेमा सचेत हुनुपर्ने धारणा राखेका छन् ।
उनले भने, “सेभ द हार्टले बेलाबखत निःशुल्क मुटु शिविर गरिरहेको छ, धेरै नेपालीहरुमा कुनै न कुनै किसिमको मुटुरोग देखिएकाले सबैले सचेतता अपनाउनुपर्छ ।”
डा. भट्टराईले आफूले निःशुल्क मुटु शिविर सञ्चालन विभिन्न जिल्लामा गरिरहेको उल्लेख गर्दै आगामी दिनमा यसलाई अझ सशक्त बनाएर देशव्यापी अभियानको रुपमा लगिने बताए ।
सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङले आफ्नो गृहजिल्लामा निःशुल्क मुटु शिविर सञ्चालन गर्न पाएकोमा आफूलाई गर्व लागेको बताए ।
शिविरमा दाङ, पर्वत, स्याङ्जा र बाग्लुङ्खबाट विरामीहरु आएका थिए ।