सोह्र वर्षे मोनिकाको चित्रकला कला परिषद्मा

माघ २७, काठमाडौं– ताहालच निवासी सोह्र वर्षे मोनिका डंगोलको एकल चित्रकला प्रदर्शनी बबरमहलस्थित नेपाल कला परिषद्मा आजदेखि सुरु भएको छ ।
‘इमेज अफ नेपाली बर्डस्’ शीर्षक दिइएको सो तीनदिने प्रदर्शनी बिहिबारसम्म चल्नेछ ।
ज्यापु महागुठीको आयोजनामा भएको उक्त प्रदर्शनीको वरिष्ठ कलाकार किरण मानन्धरले उद्घाटन गर्नुभएको हो ।
सानैदेखि चित्रकलामा रुचि भएको मोनिकाका चित्रमा विशेष गरी नेपालका विभिन्न जातीका चरालाई देख्न पाइन्छ । सुन्दर पंक्षी चराप्रति विशेष आकर्षण रहेकाले मोनिकाले ‘ल्यान्डस्केप’ चित्रमार्फत् आफ्नो रुचिलाई व्यक्त गरेको बताइन् ।
उनको ३४ चित्र प्रदर्शनीमा छन् । नेपालको राष्ट्रिय चरा डाँफेदेखि भँगेरा, गौंथलीलगायतका अन्य चराले उनको क्यानभाषमा स्थान पाएका छन् ।