को हुन् सुशील कोइराला?

माघ २६, काठमाडौं–विक्रम सम्बत १९९६ साउन २८ गते पिता बोधप्रसाद र माता कुमुदिनीका ज्येष्ठ सुपुत्रका रूपमा विराटनगरमा जन्मिएका थिए सुशील कोइराला। गत २०७० माघ २७ गते मुलुकको ३७ औँ प्रधानमन्त्रीमा निर्वाचित भएका कोइराला सरकारकै नेतृत्वमा गत असोज ३ गते नेपालको नयाँ संविधान २०७२ जारी भएको थियो। कोइराला विपी कोइरालाको प्रजातान्त्रिक समाजवादी धारणाबाट प्रेरित भई विक्रम सम्बत २०१० सालदेखि राजनीतिमा सक्रिय भएका थिए।

२००७ सालको क्रान्तिदेखि नै राजनीतिमा संलग्न भएका कोइराला ठाकुरराम  हाइस्कूल वीरगंजमा अध्ययनरत रहँदा नै राजनीतिमा सक्रिय भएर लागेका थिए। कोइराला कांग्रेसले अंगीकार गरेको राष्ट्रियता, प्रजातान्त्र र समाजवादको आदर्श एवं नेपाली कांग्रेसका संस्थापक वी पी कोइराला लगायतका नेताहरुको व्यवहारबाट अभिप्रेरित भएर राजनीतिमा संलग्न भएका हुन् ।

२०११ सालमा पिताजी बोधप्रसाद कोइराला नवलपरासीको डि एफ ओ रहँदा भाइ अरुणसंगै पाल्पामा नेपाल छात्र संघको शाखा खोल्न कोइराला गएका थिए। ०१२ साल माघमा वीरगंजमा सम्पन्न नेपाली कांग्रेसको छैठौं महाधिवेशनमा सहभागी कोइराला २०१४ सालमा  निर्वाचनको तिथि घोषणाको माग गर्दै देशव्यापी रुपमा भएको भद्र अवज्ञा आन्दोलनमा विराटनगरमा सहभागी समेत भएका थिए। २०१५ सालमा संसदीय निर्वाचनको प्रचार प्रसारमा नेपालगंजमा सक्रियतापूर्वक सहभागी भएका कोइराला २०१७ साल पौष १ गते सैन्यबलको आडमा राजाबाट निर्वाचित सरकार अपदस्थ गरी संसद भंग गरेपछि नेता सुवर्ण समशेरलाई नेपालको राजनीतिक अवस्थाको जानकारी दिन भाइ डा अरुण कोइराला सहित कलकत्ता प्रस्थान गएका थिए।

राजा महेन्द्रको कोशी अंचल सवारी हुँदा त्यसको विरोधमा भूमिगत रुपमा क्रियाशील समेत भएका कोइराला २०१७ सालदेखि २०३७ सालसम्म भारतमा निर्वासित जीवन विताएका थिए। २०३० सालमा प्रजातान्त्रिक आन्दोलनलाई नयाँ आयाम दिन गरिएको विमान अपहरण काण्डमा संलग्न र भारतमा पक्राउ परेका कोइराला ३ बर्षभन्दा बढी समय भारतका विभिन्न जेलमा जीवन विताएका थिए।

यसैगरी २०३७ सालमा जनमत संग्रह हुनुभन्दा केही हप्ता अगाडि (बैशाख १गते) गिरिजाप्रसाद कोइरालासंगै आम माफी पाएका कोइराला २०३७ सालको जनमत संग्रहमा बहुदलीय व्यवस्थाको पक्षमा जनमत सिर्जना गर्न सक्रिय थिए। उनी २०४२ सालको सत्याग्रहमा सक्रिय रुपमा सहभागी थिए भने २०४६ सालको जनआन्दोलनमा अग्रपंतिमा सक्रिय थिए । जनआन्दोलनका कार्यक्रम संचालन गरी जनमत सिर्जना गर्न बर्दियामा सक्रिय रहेका बेला नेका नेता तारानाथ रानाभाटसंगै गिरफ्तार भएका थिए।

२०५९ असोज १८ गते तात्कालिन राजा ज्ञानेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्थ गरेपछि नेपाली कांग्रेसको नेतृत्वमा चलेको शान्तिपूर्ण आन्दोलनमा सक्रिय कोइराला २०६१ माघ १९ गते शाही “कु”भएपछि सोही दिन बाँकेमा ३ महिना नजरबन्दमा परेपछि कांग्रेसको अगुवाईमा संचालित ७ दलीय आन्दोलनमा सक्रिय भएका थिए। निरकुंश राजतन्त्रको विरुद्ध २०६२÷६३ मा नेपाली कांग्रसको नेतृत्वमा संचालित आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कोइराला प्रजातन्त्र पुनस्थापनाको आन्दोलनका क्रममा  नेपाल र भारत गरी ६ बर्षभन्दा बढी जेल जीवन विताएका थिए।

कांग्रेसको सदस्यता २०१२ सालमा लिएका कोइराला  तरुण पत्रिका, नेपाली कांग्रसको आधिकारिक मुखपत्र, प्रवासकाल वनारस भारतमा सम्पादकको भूमिका समेत निभाएका थिए।
पार्टी केन्द्रीय सदस्यः २०४५ साल मंसीर १३ देखि कांग्रेसको केन्द्रीय सदस्य भएका कोइराला २०४५।४६ (सन १९९० )मा विदेश विभाग प्रमुख भएका थिए। २०५३ सालमा भएको नबौँ महाधिवेशनबाट महामन्त्री भएका कोइराला २०५५ साल असोज २० गते उपसभापति भएका थिए।

एघारौं महाधिवेशन १३–१८ भाद्र, २०६२(संस्थापन) र पार्टी एकीकरण पछिको कार्यसमिति २०६४ कार्यबाहक सभापतिको जिम्मेवारी सम्हालेका कोइराला बाह्रौ महाधिवेशन २०६७, १–५ असोजसम्म काठमाडौंमा भएको १२ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए।